यसरी मनाऔं दशैं
आकाशको रंग थोरै फरक होला । पातहरुमा शीतका थोपाहरु केही कम होलान् । मानिसको रुची फेरीएको होला साथै योजना बद्लिएका होलान् । तर सधैंको वर्ष मेलमिलाप र भाइचाराको सन्देश बोकेर आउने दशैं यो वर्ष पनि नेपालीहरुको घरमा भित्रिएको छ । हिन्दू धर्मावलम्बीहरु दशैंलाई उल्लासका साथ मनाइरहेका छन् ।
दशैं हिन्दू धर्मग्रन्थहरुले बताएको एउटा यस्तो तिथी हो, जसमा कुनै समय असत्यमाथि सत्यले जित पाएको थियो । कसैले दुर्गा नामकी देवीले महिषासुर नामक राक्षसलाई मारेको दिनको रुपमा दशैंलाई मनाउने गर्छन् त कसैले रामले रावणलाई मारेको दिनको रुपमा पनि मनाउँछन् । दशैं मनाउने जसको जस्तो मान्यता भएपनि सारमा दशैंले राम्रो काम गर्न प्रेरित गर्छ ।
दशैं ठ्याक्कै यसरी नै मनाउनुपर्छ भन्ने कहिँ कतै लेखिएको छैन । हिन्दू धर्मग्रन्थले नवदुर्गाको पुजा गरेर र मान्यजनबाट आशीर्वाद् लिएर दशैं मान्नुपर्छ भन्छन् । नयाँ लुगा लगाउने, मिठो खाने, दक्षिणा थाप्ने काम दशैं ग्रन्थीय परिधिभित्र पर्दैन । बरु धेरै अघिदेखि चलिआएको परम्पराभित्र पर्छ । अझ बलिप्रथा पनि दशैंको मौलिक विशेषताभित्र पर्दैन, यो पछिबाट चलेको चलन हो पनि भनिन्छ । खैर, जे होस् । दशैं जुन समुदायमा जसरी चल्यो, त्यसलाई त्यसरी नै मनाइँदै आएको छ । धनीहरुले तामझामका साथ मनाउलान्, गरीबहरुले एक छाक मासुभात खाएर मनाउलान् । ठूलाले घर रंगाएर मनाउलान्, सानाले झिल्के लुगा र नयाँ चप्पल लाएर खुसी हुँदै मनाउलान् । अधिकांश पुरुषहरुले दशैंका सामानको जोहो गर्लान्, अधिकांश महिलाहरुले घरको सरसफाइ गरेर दशैंलाई स्वागत गर्लान् । अग्रजले सानालाई आशिर्वाद दिएर मनाउलान्, सानाले आशीर्वाद् थापेर मनाउलान् । जसले जसरी मनाएपनि दशैं सबैले रमाइलो गरी मनाउँछन् ।
अधिकांश नेपालीहरुले मनाउने चाड हुनुका साथै विदेशिएकालाई समेत घर फर्काउन सक्ने विशेषता बोकेको पर्व हो दशैं । अरु बेला जहाँ जे गरेपनि दशैं मनाउनको लागि घरै फर्कने परम्पराले पारिवारीक माया र सद्भाव बढाएको छ । अरुबेला गाउँघरमा कुखुरा चोर्दै दुःख दिने युवाहरु पनि दशैंको समयमा आफूभन्दा ठूलाका अघि कपाल माथि सारेर निधार थाप्छन् । अरुबेला खासै वास्ता नगरिने वृद्धवृद्धा हजुरबा, हजुरआमाहरुको हातमा रातो टिको थमाएर छोराछोरी, नाति नातिना लहरै टिका थाप्न बस्छन् । यसैले यो पर्वले अग्रजहरुप्रति सम्मान गर्ने परम्परालाई समेत जिवन्तता दिएको छ, जुन यो पर्वको गहना नै हो ।
विश्वका सबै धर्मका धार्मिक ग्रन्थहरुले धेरै निर्देशन दिएका छन् । यसो गर्नु, त्यसो नगर्नु, यसरी गर्नु, त्यसरी गर्नु आदि आदि । धर्म ग्रन्थहरु आफै उत्पत्ती भएका होइनन् । कुनै समयका विद्वानहरुले लेखेका हुन् । जसलाई त्यसबेलाका शासकले राज्यभरी लागु गरे अनि त्यस्ता ग्रन्थको महत्वलाई कायम राख्न ती ग्रन्थलाई पुजा गर्न वा प्रार्थना गर्न अह्राए । मानिसले कतै ती ग्रन्थ मान्न छोडिहाल्छन् कि भनेर भगवानको परिकल्पना गरिदिए । भगवानलाई खुसी बनाउनकै लागि पनि ती ग्रन्थ र त्यसमा लेखिएका कुराहरु मान्नै पर्छ भनेर बुझाइयो । वास्तवमा समाजलाई सभ्य बनाउन गरिएको यो एउटा प्रयास आजसम्म विभिन्न रुपमा चलिआएको छ । सबैले बुझ्ने भाषामा भन्दा पुरानो समयको संविधान नै हामीले अहिले मानिआएको धर्म र संस्कृती हुन् ।
तर धार्मिक ग्रन्थहरुमा यस्ता उपदेशहरु पनि छन्, जुन वर्तमानमा सान्दर्भिक छैनन् । अझ ती ग्रन्थले दिएका सन्देशलाई समयसँगै विभिन्न विद्वानहरुले पुनर्लेखन गरेर बंग्याइदिएका छन् र झन् काम नलाग्ने बनाइदिएका छन् । त्यस्ता नियमहरुलाई भने हामीले छाड्दै जान सक्नुपर्छ । आज हामीले देश, स
माज, परिवारको लागि जे जस्तो नियम कानुन बनाउछौं, त्यो हाम्रो लागि धर्म हो । पुरानो नियम मिच्दा भगवानले सजाय दिने डर हुन्थ्यो भने नयाँ नियम मिच्दा कानुनले सजाय दिने डर हुन्छ । पुरानो नियम मिच्दा पाप लाग्थ्यो भने नयाँ नियम मिच्दा कानुन लाग्ने डर हुन्छ । त्यसैले धर्म र संस्कृतीलाई हामीले सक्ने, हामीलाई सहज हुने तरिकाले परिमार्जन गर्दा पाप लाग्दैन, किनकी यो हजारौं वर्ष अघि बनाइएको कानुन हो । जसलाई आज अक्षरस मान्नैपर्छ भन्ने छैन । कुनै कुनै पुराना नियमको विरुद्धमा त नयाँ नियम नै बनाइएको छ । जस्तै, जातपातको पुरानो नियम आज मान्छु भन्यो भने नयाँ कानुनले सजाय दिन्छ ।
त्यसैले बाँकी कुरालाई छाडिदिउँ, दशैंलाई आशिर्वाद लिने, माया दिने, रमाइलो गर्ने, पारिवारिक, सामाजिक दायित्वलाई सम्झने अवसरका रुपमा लिउँ र दशै.मा मात्र होइन, अरु बेलामा पनि सकारात्मक सोँच र प्रयास जारी राखौं । खराब संस्कारहरुलाई बिदा दिँदै रमाइलो गरेर दशैं मनाऔं ।
प्रतिक्रिया दिनुहोस् >>