आज उम्मेदवारी दर्ता
Posted by
purwanews
Published on
Thursday, October 3, 2013
संविधानसभा चुनावका लागि २ सय ४० निर्वाचन क्षेत्रमा बिहीबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । उम्मेदवारी दर्ता सबै जिल्ला सदरमुकाममा रहेका निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । निर्वाचन अधिकृतको कार्यालयहरूले यसअघि नै उम्मेदवारी मनोनयनसहितको निर्वाचन कार्यक्रम प्रकाशन गरिसकेका छन् । प्रकाशित कार्यक्रमअनुसार बिहीबार कार्यालय समयभित्र दलका उम्मेदवार र स्वतन्त्र व्यक्तिले तीन हजार रुपैयाँ धरौटीसहित उम्मेदवारी दर्ता गर्नुपर्छ । उम्मेदवारी मनोनयनका लागि नागरिकताको प्रमणपत्र, मतदाता सूचीमा नाम रहेको प्रमाणित कागजात, उम्मेदवारको फोटो र दलको आधिकारिक पत्र (टिकट) आवश्यक पर्छ । दुर्गम क्षेत्रमा हवाई उडान हुन नसकेका र अन्य प्राविधिक कारण दलको टिकट पुग्न नसकेको अवस्थामा फ्याक्सबाट प्राप्त टिकटलाई आधार मानी अस्थायी दर्ता गर्ने व्यवस्था छ । प्रत्येक उम्मेदवारले दुईभन्दा बढी निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराउन पाउँदैन । निर्वाचन कानुनले अयोग्य नठहरिने व्यक्ति कुनै पनि क्षेत्रबाट उम्मेदवार बन्न पाउने भए पनि प्रस्ताव र समर्थक सम्बन्धित क्षेत्रकै मतदाता हुनुपर्छ । सहसचिव रेग्मीका अनुसार उम्मेदवार स्वयं उपस्थित हुन नसक्ने अवस्थामा आफ्ना प्रतिनिधिमार्फत उम्मेदवारी मनोनयन दर्ता गराउन सक्नेछन् । उम्मेदवारीको विवरणमा त्रुटि हुन नदिन एक उम्मेदवारले एकै क्षेत्रमा तीनवटासम्म पत्र दाखिला गर्न सक्ने व्यवस्था छ । तर प्रत्यक्षतर्फ उम्मेदवार भएको व्यक्ति समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवार बन्न पाउँदैन । निर्वाचन आयोगले बुधबार एक सूचना प्रकाशित गरी निर्वाचनमा सहभागी हुने सबै दलहरूलाई समानुपातिक र प्रत्यक्षतर्फको कुल उम्मेदवारको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न आह्वान गरेको छ । निर्वाचन कानुनले समानुपातिक प्रणालीमा ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको छ भने समग्रमा महिला उम्मेदवार ३३ प्रतिशत पुग्नुपर्छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ताका लागि आवश्यक सबै तयारी पूरा भएको छ ।
प्रतिक्रिया दिनुहोस् >>
.jpg)