कलावती सुत्केरी प्रकरण


सुनसरी प्रकाशपुर–१ की कलावती रामले गत साउन १२ गते धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रसुति विभाग बाहिर रातभरी प्रसव पीडाले छट्पटाउँदै बच्चा जन्माएको घटनाले सबैको ध्यान तानेको छ ।

धरान स्थित बि पि प्रतिस्ठान । 
गर्भवती भएको सात महिनामा सुत्केरी ब्यथाले च्यापेर साउन १२ गते शनिबार राती ११ बजे प्रतिष्ठान आइपुगेकी अतिविपन्न परिवारकी कलावतीलाई चिकित्सकले अस्पतालमा भर्ना लिन अस्वीकार गरेकै कारणले उनले खुल्ला आकाशमुनी रात काट्न बाध्य हुनु प¥यो । चिसो भुईमा प्रसव पीडाले छटपटाउदै करिब १० घण्टा पछि उनले शिशुलाई जन्म दिइन, लगत्तै नवजात शिशुको मृत्यु भयो । त्यसपछि मात्र नर्सहरु आएर उनको नवजात शीशु र उनलाई अस्पताल भित्र लगे । आमालाई प्रसुति वार्डको भूईमा घण्टौं छाडियो भने बच्चाको मुखसम्म पनि हेर्न नदिएको पीडित पक्षको भनाइ छ । त्यति मात्र हैन प्रसुति वार्डमा करिब तिन घण्टा सम्म बस्दा पिसाब गर्न जानसम्म पनि सहयोग नपाएकी उनले त्यहाँ कार्यरत नर्सको अमानवीय व्यवहार र कर्कस बोलीको सिकार हुनुप¥यो । एकातिर रातभरी अस्पताल बाहिर चिसो भूईमा छटपटाएर सुत्केरी हुनुको पीडा अर्कातिर “म सेवा गर्छु” भन्ने कसम खाएर आएका स्वास्थ्यकर्मीहरु बाटै रुखो व्यवहार र धम्की पाएपछि पति रत्न रामले कलावतीलाई धरान–प्रकाशपुर चल्ने सार्वजनिक बसबाट घर लिएर गए ।
विपी प्रतिष्ठान जस्तो सुविधा सम्पन्न अस्पतालमा पुगेर पनि खुल्ला चौरमा रात काट्दै प्रसुति हुनु परेको घटना सामान्य होइन । यो घटना यदि नेपालमा नभएर अरु कुनै देशमा भएको भए यसले ठूलै हलचल ल्याइसक्ने थियो ।

सुत्केरी  कलावती श्रीमान रत्ण सँग आफ्नै घरमा । तस्बिर : सन्जिव वाग्ले 
राज्यले देशव्यापी सुरक्षित मातृत्व सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेका बेला प्रतिस्ठान जस्तो देशकै प्रमुख अस्पतालमा जीवन–मरणको दोसाधमा मध्य रातमा आइपुगेकी एउटी गरिब महिलालाई चिकित्सक लगायतका स्वास्थ्यकर्मीले गरेको अमानवीय व्यवहार बर्बर घटना हो । यसमा अस्पताल व्यवस्थापन पनि संवेदनशील देखिएन । यस विषयमा सरकारी छानविन समितिले पनि प्रतिष्ठानको कमजोरी औल्याईसकेको छ । प्रतिष्ठान जस्तो अस्पतालले यस्तो अवस्थामा आएको विरामीलाई जहाँसुकै राखेर पनि उपचार गराउन सक्थ्यो । कलावतीलाई प्रसुति विभागकै शैय्या चाहिँदैन थियो । सामान्य सुत्केरी गराउन आएको एउटा बिरामीलाई समेत शैय्या नभएको भन्दै उपचार गर्न नमान्ने अस्पतालले प्राकृतिक विपद् र त्यस्तै अन्य संकटका बेला कसरी उपचार गर्ला ? सोच्नु पर्ने विषय बनेको छ ।

                                                                          तस्बिर : सन्जिव वाग्ले 
अर्काे गम्भिर पक्ष त के छ भने, कलावती प्रकरण मानव अधिकार हनन्को गम्भिर घटना हो । राज्यले स्वास्थ्य सेवालाई आधारभूत अधिकारको रुपमा ग्यारेन्टी गरिसकेको देशमा एउटी महिलालाई अत्यन्त सम्वेदनशील अवस्थामा सुरक्षित प्रसुति गराउन पाउने नैसर्गिक अधिकारबाट बञ्चित गराइनु मानव अधिकारको गम्भीर उलङ्घन हो ।

कलावती महिला मात्र नभएर दलित पिछडीएकी वर्गकी महिला पनि हुन् । यति सम्वेदनशील घटना घट्दा पनि महिला अधिकार र दलित अधिकारको नाममा कुर्लनेहरु कलावती प्रकरणमा ‘चुँ’ सम्म बोलेको सुनिएको छैन । केही समय अगाडी बेलबारीमा घटेको “माया सार्की घटना प्रकरण”मा महिला अधिकार र दलित अधिकारका नाममा एनजिओ, आइएनजिओले उठाएको महिला र दलित अधिकारको कुरा र त्यो सम्वेदनशीलता कलावती प्रकरणमा किन देखिएन ? यो प्रसङ्ग किन पनि जोडिदैछ भने, माया सार्की प्रकरण र कलावती प्रकरणको अन्तरवस्तु फरक छैन । बेलबारी घटनामा उठेको मुद्दा एउटी दलित, गरिब महिलालाई गरिएको अमानवीय व्यवहारविरुद्ध मानव अधिकार हनन्को मुद्धा थियो भने कलावती प्रकरणमा चिकित्सक र अस्पताल व्यवस्थापनले कलावतीलाई अस्पतालमा भर्ना नलिएर प्रसुति विभाग बाहिर सुत्केरी हुन बाध्य पारिनुको पछाडी उनी पहुँच नभएकी दलित महिला थिइन्, जसको कारण उनले त्यस्तो वर्वरता भोग्न बाध्य हुनु प¥यो ।

कलावती सम्पन्न र कथित उच्च जातकी, पहुँच भएकी महिला भए कसले त्यस्तो व्यवहार गर्न सक्थे ? उनको पीडा माया सार्कीको पीडा भन्दा अझै कहाली लाग्दो पीडा हो । मायाको पीडा त अन्तराष्ट्रियकरण भएको छ । त्यो जघन्य अपराध नै हो । तर त्यो घटनामा अधिकारको हनन् भएको भनेर कुर्लनेहरुले कलावती प्रकरणमा मानव अधिकारको हनन् भएको किन देखिरहेका छैनन् । बेलबारी घटनामा अधिकारको सवाललाई आधार बनाएर आन्दोलन गर्नेहरुले कलावतीले भोग्नु परेको पीडा र सुरक्षित सुत्केरी गराउन पाउने आधारभूत मानव अधिकारको कुरालाई किन विषय बनाउन सकिरहेका छैनन् ? यतिसम्मकी कुनै अधिकारकर्मीले यो प्रकरणमा आवाज उठाएको सुनिएको छैन ।

यसबाट के प्रष्ट हुन्छ भने, पैसाको चलखेल गर्न पाउने  र दाताबाट पैसा झार्न पाउने ठाउँमा मात्र कथित अधिकारकर्मीहरु बोल्ने रहेछन् । यो प्रकरणमा पनि चरम राजनीति भइरहेको छ । अस्पताल व्यवस्थापन यो विषयलाई सामसुम पार्ने प्रयासमा लागिरहेको पछिल्ला घटनाक्रमहरुले देखाइरहेका छन् । तसर्थ, न्यायको सिद्धान्तलाई आधार मानेर पीडक पक्षलाई कानुनी दायरामा ल्याउन जरुरी छ । ताकि भविष्यमा अरु कुनै कलावतीले यस्तो नियती भोग्नु नपरोस्, सबैलाई चेतना भया !


 - सन्जिव वाग्ले 

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>