बोर्डिङ

'दुई सय, तीन सय, चार सय... लु, पाँच हजार त पुगो क्यारे ।’
धनमाया एक हजारका चार वटा, एक सयका पाँच वटा र पचासका १० वटा नोट बोकेर खुसी भई । छेउमै बसेको साने बिजुली चम्केको तालमा जुरुक्क उठ्यो र पैसातिर ठूला चम्किला आँखाले हेर्दै उफ्र्यो ।
‘हे हे हे अब म पनि बोदिन पढ्ने, बोदिन पढ्ने ।’ उसले पाँच हजार रूपैयाँलाई छुन खोज्यो ।
आमाले जोगाएर पुरानो मैलिसकेको पर्समा राख्दै भनिन्, ‘ल ल बोदिन पढ्लास् ।’ छेउमा सानेका बा दङ्ग परेर भित्तातिर एकोहोरिए । छोरालाई बोर्डिङमा पढाउन पाइने भो भनेर उनी मख्ख देखिन्थे ।
०००
उनीहरूको गाउँमा निमाविसम्म पढाइ हुने सरकारी स्कुल थियो । सानेलाई पनि त्यही भर्ना गरिएको हो । तर, त्यही वर्ष गाउँमा निजी स्कुल खुल्यो । सानेका साथीहरू ठाँटिएर स्कुल जान थाले । सानेले नयाँ खुलेको स्कुल र आफू पढिरहेको स्कुलको तुलना ग¥यो । आफ्नो ब्याग हे¥यो । उनीहरूले बोक्ने ब्याग ठूला थिए । सानेले आफ्नो घाँटीमा टाई पाएन । ड्रेस पनि नयाँ स्कुलको चम्किलो लाग्यो । खुट्टामा सानेका फित्तावाल चप्पल अनि नयाँ स्कुलका विद्यार्थीको कालो टिलिक्कै टल्किने जुत्ता । सानेले ती सबै नयाँ पोशाकमा आफूलाई सम्झ्यो, मनमनै लोभियो ।
०००
लुगै त यस्तो छ, कस्तो पढाइ हुन्छ होला ...
‘बुझिस्, आज त मैले कस्तो राम्रो ड्रइन गरेँ । मेमले फुल माक्र्स दिनुभो ।’ उसले चित्र देखायो । सानेले सम्झ्यो, उसको स्कुलमा यस्तो चित्र–सित्रको कुनै मतलबै छैन । कहिल्यै चित्र बनाउन लगाएनन् । अनि अँ... उसले त सबै अङ्ग्रेजीमा भन्यो । ड्रइन, मेम, फुल माक्र्स । अङ्ग्रेजी त कति सजिलै फरर आउने रैछ ।
‘ओई, भोलि हाम्रो स्कुल आइज ल, चिप्लेटी खेल्नुपर्छ ।’
अघिपछि पिटु र चोर–पुलिस खेल्ने साथीले चिप्लेटी खेल्न थालेछ ।
‘कस्तो हुन्छ यो ?’
‘माथि जाने, अनि चिप्लोमा चिप्लिने ।’
उसले केराको बोक्रामा चिप्लेर चाक दर्फराएको सम्झ्यो ।
‘होस्, तैं खेल ।’
‘आइज न । पिन पनि छ । सानो सानो अनि चाकाचुली पनि ।’
‘हो र ?’ उसले आँखा ठूलो पा¥यो ।
०००
साँझमा उसले आमाबुबालाई सुनायो, ‘म पनि बोदिन पढ्ने । कस्तो राम्रो छ ।’ आमाबुबालाई पनि मन त थियो, एक्लो छोरालाई बोर्डिङ पढाउन । छिमेकीका छोराछोरी अङ्ग्रेजी स्पेलिङ घोकिरहँदा उनीहरूलाई पनि छोरालाई अङ्ग्रेजी पढाउन मन नभएको होइन ।
तर, मजदुरी गर्ने उनीहरूलाई छोरालाई पाल्न र पढाउन नै समस्या थियो । बिचरा बोली पनि राम्ररी नफुटिसकेको त्यो बच्चाले घरको कुरा के बुझोस् ।
‘क्यार्ने हो ? सकिन्छ ?’
‘खै, छोरालाई राम्रो नै पढाउनुपर्ने हो । खानै समस्या छ ।’
‘गाँस काटुम्, तर पढाम् न त । पढाइ खेर जाँदैन क्यारे । खानलाउन त कैले पुग्ने हो र ?’
०००
भर्ना समय सकिनै लाग्दा साने पनि बोर्डिङ पढ्ने भयो । आठ हजार रूपैयाँले पुगेन । किताब, कापी, झोला, दुई तीन थरी पोशाक, जुत्ता गर्दागर्दै खर्चले १० हजार रूपैयाँ नाघ्यो । दुई दिनको भाका लिएर रकमको बन्दोवस्त गरे ।
साँझ टुकीको उज्यालोमा साने ए फर एपल भनिरहँदा सानेकी आमा एउटा हातले सानेको टाउको मुसार्दै थिइन् भने अर्को हातले बुच्चे भएको नाक छाम्दै थिइन् ।
सानेका बाले त्यो देखेर भने, ‘भर्ना त गरिम्, घरखर्च जत्तिनै फिस लाग्ने रछ, कसरी तिर्ने हो ?’
सानेका बा–आमासँग त्यसको उत्तर थिएन । तर, साने भने बेपर्वाह तरिकाले ए फर एपल, बी फर बल, सी फर क्याट रटिरहेको थियो ।
published in collegetimes sawn edition, yugpath


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>