महिला हिंसा अनि हामी

बलात्कार पुरुषप्रधान मानसिकताको उपज मात्र नभई आपराधीक मानसिकता हो ।  हामीभन्दा निकै विकसित देशहरुमा पनि बलात्कारको घटना हुने गर्छ । यदि पुरुषप्रधान मानसिकताले मात्र बलात्कार हुने हो भने त ति विकसित देशहरुमा त समाज पुरुषप्रधान छैनन् नि । त्यहाँ बलात्कार नहुनुपर्ने हैन र ? 
गएका दिनहरुमा सम्पूर्ण सञ्चारमाध्यममा महिला हिंसा, बलात्कार आदिजस्ता घटनाहरुले निकै प्राथमिकता पाए । सधैँ प्रधानमन्त्री सरकार, गठबन्धनका मात्रै कुरा हुने समाचारका हेडलाइन र मुख्य समाचारमा नेपाल र भारत दुवैठाउँमा महिला हिंसाका खबर
प्रकाशन, प्रशारण भए । झट्ट हेर्दा महिला हिंसाका घटना बढेका हुन् कि भन्ने देखियो, तर कुरा त्यसो होइन ।
मेरो विचारमा अहिले आएर महिला हिंसा, बलात्कार आदिको श्रृखला बढेको हैन, बरु सञ्चारका साधनहरु शशक्त हुँदै आएको र महिलाहरुमा पनि त्यस्ता घटनाहरुको विरोधमा बोल्न सक्ने साहस र संघसंस्थाहरुको सहयोग बढेको हो । एउटा नेपाली रिपोर्टलाई अंग्रेजीमा रुपान्तरण गर्ने क्रममा मैले बालुवाटार घेराउ कार्यक्रम, केहि हिंसा पिडित परिवार, विदेशबाट नेपाल फर्कदाँ नेपाली कर्मचारीहरुले नै देखाएको पशुशरह व्यवहारको कारणले बलात्कृत हुनुपरेको महिलाको कथा र अन्य प्रकाशमा आएका दुःखपूर्ण घटनाहरु थाहा पाएँ । इन्टरनेटमा खोजी गर्दा पनि मानव अधिकारका उल्लंघनमा मुख्य तिन प्रकार रहेछन् ।  
१ यौनजन्य
२ श्रमजन्य
३ मानव अङ्ग बेचबिखन
यी तिनै कुराहरुलाई एकैपटक संगालेर हेरेँ, हाम्रो देशमा त तिनै कुराहरुले राम्रो अड्डा जमाएका छन् । यौन हिंसाहरु बढ्दा छन्, श्रमका कुराहरु पनि उत्तिकै छन् । अस्ती भर्खर भक्तपुरमा एउटा इँटाभट्टामा काम गर्ने बालबालिका श्रमिकहरु पोखरीमा डुबेर मरेका कुरो सेलाएको छैन, वैदेशिक रोजगारमा पनि एउटा भनेर गएको, अर्को काम गर्नुपर्ने बाध्यता छँदै छ । विदेशमा काम गर्न भनेर लगिएर त्यहाँ शारीरिक शोषणमा परेका धेरै महिलाहरु छन्, अनि किड्नी बेचेर घरमा जस्तापाता हालेका उदाहरण हामीभन्दा धेरै पर छैन । भारतका कुख्यात अङ्ग तस्कर डाक्टर अमित रावत पनि नेपालमै पकडिएका हुन् । अब बलात्कार महिला हिंसाका कुराहरु त के गर्नु ? हरेक दिन पत्रिका पल्टाएर हेर्ने हो भने दर्जनौँ घटनाहरु देखीन्छन् ।
यी त प्रकाशमा आएका घटनाका विवरणहरु हुन तर अझै नेपथ्यमा धेरै घटनाहरु हुन्छन्, जुन भित्र भित्रै रहन्छन्, रिपोर्ट हुँदैनन् । श्रम, यौन र अङ्ग यी तिनै प्रकारका हिंसाहरु बढ्दा छन् । यी तिनै कुराहरुको जोरन पुगेको छ, हाम्रो देशमा । यस्ता कुराहरुमा मेरो विचारमा कुनै विदेशी संघसंस्थाहरुको सहयोगले भन्दा पनि हामी आफैँ सचेत भएर, सचेत गराएर, कानुनको सहायता लिएर, नागरीक समाजको सहयोगले मात्र समाधान गर्न सकिन्छ होला । हामी सम्पूर्ण यूवाहरु यस विषयमा एकजुट हुने बेला आएको छ । दण्डहिनताको बाक्लै उदाहरण पाइने राष्ट्रको यो संक्रमणकालिन अवस्थामा हामी यूवाहरुको दायित्व बढि हुन्छ ।
हाम्रा कमीकमजोरीहरुमा प्रहार गर्दै यस्ता कुराहरु संस्थागत रुपमै फैलिरहेको छ, गरिबीको फाईदा उठाएर केहि हजारकै प्रलोभनमा एउटा नेपालीले आफ्नो मृगौला बेच्दछ, विदेशमा राम्रो जागिरको प्रलोभनमा नेपाली महिलाहरु विदेशिन्छन् र विदेशमा पनि यौनजन्य हिंसामा पारिन्छन् ।
महिला हिंसा भनेको बलात्कार, कुटपिटमात्र नभई महिलाहरुको अगाडी फोहोरी ठट्टा गर्नेदेखि उनिहरुलाई उनिहरुको इच्छाविपरित गरिने कुनैपनि क्रियाकलाप हुन् । हामी यूवाहरुले आफैँले आफैँलाई प्रश्न सोधौँ, कतिपटक हामीले चोक चौराहामा बसेर महिलाहरुलाई जिब्रो पड्काएर जिस्क्याएका छौं ? राम्री केटीको मोबाइल नम्बर पाउँदैमा मिसकल र मेसेज गरेर उनीहरुलाई हैरान पारेका छौँ ? फेसबुककै कुरा गरौँ, खोजी खोजी राम्रा फोटाहरु भएकालाई रिक्वेस्ट पठाइन्छ, जे पायो त्यहि मेसेज गर्यो, कमेन्ट गर्यो । रमाइलो गर्नको लागि त्यस्ता काम गरिएपनि हाम्रो यस्तो बानीले उनीहरुलाई असर गरिरहेको छ भने त्यो पनि एकप्रकारको हिंसा नै त हो ।
एकपटक एउटा महिला अधिकारमै कार्य गर्ने संस्थामा मलाई पनि निमन्त्रणा दिए, एउटा बहस कार्यक्रममा । तर त्यो कार्यक्रममा मलाई जिन्दगीमा पहिलो पटक आफू पुरुष भएकामा सम्पूर्ण पुरुष जगतलाई नै लान्छना लाउने प्रयास भएझैँ लाग्यो ।
हामी अमेरिका, यूरोपभन्दा फरक समाजमा छौँ, हाम्रो समाजमा पारपाचुके उत्ति हुँदैन, आमाको नामबाट पनि नागरिकता लिन सकिने नियम भर्खरै आउँदै छ, हो महिलालाई अलिक पुरुषसरह अधिकार नहोला तर परिवेश बदलिँदै छ । अब तपाई समाजको यो संरचनालाई जे नाम दिनुहोस्, पुरुष प्रधान समाज भन्नुहोस् या नारी अधिकार विहिन समाज । म यहाँसम्म सहमत छु र परिवर्तन मलाई पनि चाहिएको छ । तर मेरो प्रश्न मात्र के हो भने, महिला अधिकार भनेको पुरुषलाई लान्छना लाउनुमात्र हो त ?
भारतमा महिलामाथि बलात्कार र हत्या भयो, मेरो विरोध छ त्यसमा, तर हरेक पुरुषहरु त्यस्ता हुँदैनन् । इगंलीसमा स्टेरियो टाईप भनेजस्तो सम्पूर्ण पुरुषलाई एउटै तराजुमा जोख्न हुँदैन, किनकी मेरो विचारमा महिला अधिकार प्राप्तीको लडाई भनेको समाजको संरचना परिवर्तन गर्ने लडाई हो, मानसिकता परिवर्तनको लडाई हो, न कि पुरुष विरुद्घको लडाई । यदि हरेक पुरुषलाई अपराधीको धारणाले हेर्न थालिए एउटा लैंगिक युद्घको शंखनाद नहोला भन्न सकिन्न ।
म गएको सभामा कुरा चुलिँदै गयो, नाराहरु थपिँदै गए, म केही नाराहरुलाई एक एक गरेर प्रस्तुत गर्न चाहन्छु ।
तिम्री छोरीलाई के लाउने के नलाउने भनेर भन्नुभन्दा तिम्रो छोरालाई महिलालाई बलात्कार नगर भनि सिकाउ ।  
छोरीलाई मन लागेको लुगा लाउन दिँदैमा महिला अधिकार प्राप्ती हुन्छ भने त म धेरै खुशी हुनेछु, साह्रै सजिलो उपाय । तर नारामा पनि महिला र पुरुषबिच विभेद गर्न जरुरी छ र ? कहाँबाट छोरा र छोरीको कुरा तुलनात्मकरुपमा आयो ? मेरो विचारमा यो नारालाई परिष्कृत गर्नुपर्छ । के तपाई आफ्नो चार पाँच कक्षामा पढ्ने बालक छोरालाई बलात्कारको बारेमा भन्न सक्नुहुन्छ ? महिला हिंसाका कुराहरु प्रष्ट व्याख्या गर्न सक्नुहुन्छ ? ल सक्नुपनि हुन्छ होला तर कत्तिको जरुरी छ ? मेरो छोरालाई म महिलाहरुलाई सम्मान गर्नुपर्छ भनेर सिकाउँछु । लैंगिक समानताका बारेमा अवश्य सिकाउँछु तर बलात्कारकै बारेमा सिकाउन र भन्न अलिक असहज र अपरिपक्व होला कि ?
जतिपनि बलात्कारीहरु छन्, के तिनीहरुलाई बलात्कार गर्नुहुँदैन भन्ने थाहा छैन होला त ?  
उसोभए छोरीलाई छोटा छोटा कपडा लाएर हिँडेपनि केहि नभन्दैमा महिला अधिकार प्राप्ती हुन्छ भन्ने कुरा तपाईलाई के लाग्छ ? मलाई त विश्वास छैन । हो, हामीलाई बच्चैदेखि महिला हिंसाका बारेमा थाहा हुनुपर्छ, चाहे पुरुष होस् वा नारी । महिला हिंसाका बारेमा पनि पाठ्यक्रममा समावेश गरौँ । हाम्रा भाइबहिनाहरुले सामाजीक शिक्षा, नेपालीमा यस्तै केहि कुराहरु पढ्न पाउन्, अर्को पुस्ता महिला हिंसा विरुद्ध तैयार हुनेछ । यहाँ माथीको नारामा अप्रत्यक्ष हिसाबले छोरालाई भविष्यको बलात्कारीकै रुपमा बुझाउन खोजिएको छ । होला, बलात्कार गर्ने छोरा मान्छे नै होलान् । तर सबै छोराहरु बलात्कारी पक्कै होइनन् । दशैँमा टिका लाएजस्तो यस प्रकारको सामुहिक बलात्कारको टिका नलाइदिनुस् कृपया । मैले आफ्नो बिन्ती पोखेँ ।
महिलालाई बलात्कार गर्ने त्यो पुरुषको लिङ्गले हैन, त्यो पुरुषप्रधान मानसिकताले हो । 
कुरा एकदम सहि हो, तर बलात्कार मात्र महिला हिंसा हो र ? लिङ्गले मात्र हो त ? मलाई छाडा लाग्यो, तपाईलाई कस्तो लाग्यो कुन्नी ? मानसिकताको कुरा सहि हो, पुरुषप्रधान नै छ तर विस्तारै परिवर्तन गर्नुपर्छ र हुँदैछ । मैले मेरो मास्टर्स पढ्दा कुल ३० जना विद्यार्थी कोटामा हामी १२ जना मात्र पुरुष र १८ महिला थिए, यो एउटा उदहारण हो । यसको आधारमा मात्र म परिस्थती देखाउन चाहन्नँ, ग्रामीण परिवेशमा परिस्थीती विकराल नै छ । तर यस्ता छाडा नारालाई म र्याडिकल फेमिनिस्ट को संज्ञा दिन चाहन्छु । बलात्कार पुरुषप्रधान मानसिकताको उपज मात्र नभई आपराधीक मानसिकता हो ।  हामीभन्दा निकै विकसित देशहरुमा पनि बलात्कारको घटना हुने गर्छ । यदि पुरुषप्रधान मानसिकताले मात्र बलात्कार हुने हो भने त ति विकसित देशहरुमा त समाज पुरुषप्रधान छैनन् नि । त्यहाँ बलात्कार नहुनुपर्ने हैन र ?
म महिला विरोधी कदापी हैन । एकचोटी सुदुरपश्चिम भ्रमणमा जाँदा कैलालीको पहलमानपुर पारी एकजना दिदीलाई वहाँको पतिले एकदमै कुट्ने पिट्ने गरेको थाहा पाएर हातमा रेकर्डर लिएर वहाँको घर पुगेथेँ । साथमा हाम्रो स्थानिय रिपोर्टर सन्जु पौडेल बहिनी पनि हुनुन्थ्यो, गाउँलेहरु सबै भेला भए । मैले प्रश्न गाउँलेलाई तेस्र्याएँ, गाउँमा बुढाले बुढीलाई कुटपिट गर्दा तपाईहरु किन चुप बस्नुहुन्छ ?
उत्तर आयोः उसको बुढी पिट्छ, हामी किन बिचमा पर्नु ?
मेरो विचारमा यस्तो मानसिकता परिवर्तन गर्न सक्नुपर्छ, नकि लिङ्गको र बलात्कारको उदाहरण दिदै हिँड्ने । बुढाले बुढीलाई कुटपिट गर्न हुने कस्तो नियम हो यो ? मैले यी विषयमा पनि केहि कुरा राखे कैलालीमा, त्यो दिदीको कथा मैले साथीसँग मनका कुरा रेडियो कार्यक्रममा बजाएँ, सुदुर सन्देश नामक पत्रिकामा यस्तै एउटा लेख लेखेँ ।
अहिले वहाँले स्थानिय स्कूलमा सानो क्यान्टिन चलाउनुभएको छ रे ? वहाँलाई केहि लघुवित्तले विना धितो रकम दिएर किस्ता तिर्ने शर्तमा लगानी गरिदिएछन् र वहाँको बुढाले कुटपिट गर्दा स्थानिय साथीसँग मनका कुरा क्लबका साथीहरुले पुलिस प्रशासनमा हारगुहार र पहल गरेर आज स्थिती परिवर्तित छ ।
परिवर्तनका लागी अवसर चाहिने रहेछ, आउनुहोस् हामी एकअर्कालाई गालीगलौज गर्नुभन्दा अवसरको सृजनातर्फ लागौँ, महिला साक्षरता दर पनि विस्तारै उँभो लाग्दै छ, महिला कामदारहरु कामको खोजीमा पुरुष सरह विदेश जाने क्रम बढ्दो छ । अझै धेरै गर्न बाँकी छ । मैले अहिले काम गर्ने संस्थामा हाम्रो प्रेसिडेन्ट पनि महिला नै हुनुहुन्छ, मलाई कलेजमा पढाउने पनि धेरै महिला प्रोफेसरहरु हुनुहुन्थ्यो ।
मेरो एउटा प्रश्न छ, म साँच्चीकै प्लस टु पढ्दासम्म महिलाहरुसँग बोल्न डराउँथेँ, कारण हामी बस्ने बेन्च नै छुट्टै थियो स्कूलमा । प्रार्थना गर्दा पनि छुट्टै लाइन हुन्थ्यो र तिनीहरु कस्ता हुन्छन्, के हो ? एउटा कौतुहलता मनमा जहिल्यै पनि रहिरहन्थ्यो । महिला पुरुष समानताको पहिलो कसी स्कूलमा बनाइनुपर्छ । किनकी त्यहीँबाट शुरु हुन्छ भिन्नता, दुई बिचमा । किन महिला र पुरुषलाई छुट्टै राखिन्छ ? यहाँ महिला र पुरुष सँगै बस्यो भनेपनि एउटा कुरा बन्छ, मैले मेरो पछिल्लो लेखमा उल्लेख गरेको पनि छु, एउटा नयाँ वर्षको ग्रिटीङ कार्डले स्कूल नै छाड्न पर्नाको कारण ।
टिनएजमा आफूभन्दा सिनिएर दाईहरुले नै हामीलाई केटि जिस्क्याउने तरिका सिकाँउछन्, जिब्रो पड्काउने तरिका सिकाउँछन्, स्कुटरमा केटी छिन् भने आफ्नो मोटरसाइकलको हर्न टिँटिँट नपारेसम्म पुरुषत्वको मजा आउँदैन । यी र यस्तै व्यवहारबाट सुरु हुन्छ, महिला हिंसा । त्यसैले जरा केलाएर अगाडी बढौँ । हिंसाको उदगम बिन्दु यहाँ छ । म क्लास तीनमा पढ्दा क्लासमा रोल नं १ एकजना केटिको थियो । मेरो ट्यूसन टिचरले मलाई मुला जाबो केटिलाई पनि उछिन्न सकिनस् भनेर भन्नुभएको थियो । एक त म सँधैँको औषत विद्यार्थी । फस्र्ट हुनेगरि पढ्ने चाहना नै कम । तर मेरो मनमा किन त्यो केटीलाई मैले जित्न सकिनँ भनेर लागिरहन्थ्यो ।
हो, राम्ररी पढ्नु पर्छ तर मलाई पढ्न पर्छ भनेर उत्प्रेरित गरिएको तरिका नै गलत थियो । त्यतिबेला मलाई के थाहा र यस्ता कुरा । अब जित्नुपर्छ भनेँपछि जित्नैपर्छ भनेर अलिक ध्यान दिएर पढेको थिएँ । तर पढाई र क्षमता भन्ने कुरा लिंगका आधारमा नहुने रहेछ । म ११ औँ भएँ । उनि दुई नम्बरमा आइन् । तरपनि रोल नं. १ मा अर्की एक छात्रा नै भइन् । आजपनि मेरो मास्टर्समा महिला साथी नै पढाइमा टप छिन्, मलाई खुशी लाग्छ ।
एकदिन पानीमा भिजेर काठमाडौँको टेकुमा म मोटरसाइकल जाममा परेँ । जताततै पानी नै पानी । ढल फुटेर चारैतिर पानीको प्रकोप थियो । कारण, हाम्रो ढलको संरचना नै पुरानो । पाईपहरु फुटेका थिए र फोहोर छताछुल्ल थियो । पुरानो संरचनाले दुर्गन्ध ल्याएको थियो । त्यसरी नै समाजमा पनि नयाँ संरचना र मानसिकता चाहिएको छ, पुरुष र महिला दुवै लिंगलाई समान दृष्टिले हेर्ने हो भने । कानुन र सरकारको उपस्थिती सबैतिर हुनुपर्छ । दन्डहिनताको अन्त्य हुनुपर्छ । चाहे नारी हौँ वा पुरुष, हामी समान छौँ, विभेद र हिंसा एउटा अपराध हो, हामीले बच्चैदेखि थाहापाउन जरुरी छ ।
हाम्रा बालबालिका कस्तो प्रवृतीमा हुर्किरहेका छन ति कुराहरुले भविष्यको निर्धारण गर्ने हुन्छ । चाहे त्यो महिला हिंसाको कुरा होस् या अरु जुनसुकै । मलाई विश्वास छ कि यदि हामीले पाठ्यक्रममा महिला समानता, महिला हिंसाका कुराहरु समावेश गर्ने हो भने भविष्यमा महिला हिंसा धेरै कम हुन्छन् ।
मेरो नाम सुयोग ढकाल, म अहिले नेपालभरि एचआईभी एड्समा काम गर्ने लगभग एक सय ५० भन्दा बढी संस्थाहरुको छाता संगठन एवं नेटवर्क नानगानमा कन्सल्टेन्टको रुपमा कार्यरत् छु । 
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>