नयाँ बर्षको ग्रिटिङ कार्ड

"भर्खर भर्खर भोजपुरबाट तराई झरेकी मेरी हुन नसकेकी मायालुले पक्कै हिन्दी बुझदिन भन्ने मेरो अडकल थियो । 
म उनिसँग एकदमै थोरै मात्र बोल्थेँ, मनमा केहि भावना भएपछि त्यो मान्छेसँग बोल्न गाह्रो हुनेरैछ, के गर्नु? मनै त हो ।"

“one glass of water, one glass of beer, Oh my dear, happy new year “  
यस्तै केहि रेडिमेड अँग्रेजी शायरीहरु लेखेर एकरुपैँया पर्ने पोष्टकार्ड किनिन्थ्यो, त्यस्लाई शायरीमय बनाँएर मनपरेका साथीलाई पठाईन्थ्यो नयाँबर्षमा । हिरोहिराईनका फोटाहरु भएका पोष्टकार्डहरु प्रसस्तै पाईन्थ्यो मङ्गलबारे हाटमा । आफूलाई त सलमान खान मनपर्ने, खोजी खोजी उन्कै फोटाहरु किनेँर ल्याईन्थ्यो । सलमान आजपनि जस्ताको तस्तै देखिन्छन,चलचित्र खेलिरहेछन,नयाँबर्ष पनि हरेक बर्ष आँउदैँछ तर,थाहै नपाइ मेरो जिवन र समय धेरै बदलिसकेछ ।
शायद त्यतिबेला देखि नै होला मभित्र नयाँ बर्षको रस पसेको, आज पनि नयाँ बर्ष भनेँपछि खै कता कताबाट मनमा एउटा रमाईलो बतास चल्छ, याद आँउछ ति दिनहरु, जतिबेला भकारीबाट लुसुक्क धान चोरेर अयूबको सेलरमिलमा बेचेर भएनि केटिहरुलाई पठाउनलाई पोष्टकार्ड किन्ने जोहो पहिल्यै गर्थे, अहिले जस्तो ईन्टरनेटमा गुगल गुरु थिएनन, केहि आँशुकवि साथीलाई शायरी कथ्न लाईन्थ्यो अनी आफू पनि लेखिन्थ्यो । आफू सानैदेखि अलिक अराजक मान्छे, केटाहरुलाई पोष्टकार्ड पठाउनको औचित्य कहिले पाईन तर केटिहरुसँग समबन्ध बिस्तार गर्नाका लागी भनेँ नयाँबर्षको सदुपयोग मैले जति कस्ले गर्यो होला र ?
कति कुरा रमाईला हुन्छन,मिठा हुन्छन, सम्झँदापनि उतिबेला पाईने सुन्तले चकलेटजस्तो तर कतिकुरा चिरेतो भन्दा तिता र काँचो केरा काटेर खाएभन्दा टर्रो हुन्छन, सम्झँदा हाँस पनि उठ्छ रिस पनि उठ्छ । कस्सम,मलाइ थाहा थिएन त्यो मेरो सानो पोष्टकार्ड र शायरीले त्यत्रो हङगामा हुन्छ भनेँर,त्यतिबेलाको समय नै त्यस्तो थियो, साँघुरो ।
अहिलेका केटाकेटी मस्तले फेसबुकमा केटिहरुसँग च्याट गर्छन, स्काईपीमा कुरा गर्छन, भाईवरमा कुरा गर्छन, इमेल गर्छन, मोबाईल छ हातहातमा त्यसैले कहिले काँही त मलाई नि ईष्र्या लागेर आँउछ । तर,के गर्नु रु हाम्रो पालामा  त्यस्तो थिएन ।
म पूर्वी तराईमा हुर्केको केटो, प्रे्मीकालाई भेट्न पर्दा सबैभन्दा पहिल्यै कुन रुखको कुन टोडकोमा चिठी साटासाट गर्ने फाईनल गरेपछि त्यहि चिठि मार्फत भेट्ने ठाँउ र समय फाईनल हुन्थ्यो, बिहेको साईत हेरेको भन्दा लामो समय । त्यस्पछि भेटिन्थ्यो, नहरको किनारमा, थानगाछीमा, हाटबजारमा, कता हुन्छ । धेरै पटक भैँसी गोठमा डेट गएको अनुभव पनि छ ।
आठ कक्षामा पढथेँ, गाँउको स्कूलमा, अहिले जस्तो बाईक सस्तो थिएन, गाँउमा थोरैमात्र गनेँचुनेका मान्छेका बाईक हुन्थे। मसँग साईकल थियो, उतिबेलाको हिरो साईकल हिरो रेन्जर र त्यसैमा चढेर बजार गएर मैले धान बेचेको पैसोले चारवटा सामान्य र एउटा पाँचरुपैँया गोटाको ग्रिटिङ्ग कार्ड ल्याएर बुईकलमा लुकाएर राखेँथेँ, कोही बिशेष मान्छेलाई दिन ।
आठकक्षामा पढ्ने म, टिनएजमा थोरै मन बहकिनुलाई म अहिले स्वभाविकनै मान्दछु, मेरो मनको पनि खासै दोष भन्न मिल्दैन कारण उनि पनि औधी राम्री थिईन फेरि अरु केटाहरु पनि मसँग प्रतिस्पर्धामा उत्रने संभावना थियो, मलाई हार्न डर लाग्छ र जित्नलाई अगाडी सरिहाँले ।
धान बेचेर भएनि कार्ड त किनेर ल्याँए तर अब मलाई शायरी के लेख्ने भन्ने ब्यापक दुबिधा भयो । मैले यस्तो शायरी लेख्न पर्नेभयो जस्मा मित्रता र प्रेम दुबै तटस्त हिसाबले देखिनपर्ने थियो,राती धेरैबेर कलम टोक्दै बसेँ केहि सीप चलेन ।
आठैबजे सुत्ने नाती साँढे दशसम्म कापी अगाडी लिएर बसेको देखेर मेरी हजुरआमा पनि नातीले पढ्यो भनेँर खुशी हुनुभयो होला तर मेरो उदेश्य अर्कै थियो ।
बिहान उठेँ, फेरि सोचेँ तर मेरो दिमागले भ्याउने बिषयबस्तु भएन ।
लवलेटर लेख्न त म त्यतिबेला स्कूलमै कहलिएको थिएँ तर छन्दको ज्ञान र अभ्यास ममा खासै थिएन ।
नयाँ बर्ष, बैशाख १ का दिन त स्कूल बिदा हुने भएकाले मैले एकदिन अगाडीनै उन्लाई त्यो दिने जमर्को गरेथेँ, शायरीले अडकाको अडकाकै भयो । अहिले सम्झेर हाँस उठ्छ ।  मैले संभवत बिश्वकै लामो यूवा रेडियो कार्यक्रम साथीसँग मनका कुरामा प्रस्तोता र लेखक भएर कार्य गरेँथे र त्यतिबेला मलाई बिश्वभरिका नेपालीले पठाउनुभएका बिभिन्न प्रेम लगायतका अन्य जिज्ञासा पढ्दा मेरो आफ्नै त्यतिबेलाको जिज्ञासा याद आँउथ्यो । अहिलेसम्म नि शायरीको त्यो अभाव मलाई नयाँ बर्षमा याद आँउछ, त्यतिबेला को बर्ष बि.सं २०५७ थियो, सम्झेर ल्याँउदा आज १३ बर्ष काटिसकेछ मेरो त्यो कन्फ्यूजनले ।
हुन त म त्यति सारो आउटमोडेड पनि थिईन जस्तो लाग्छ, प्रेम ब्यक्त गर्नलाई लेखेरै दिनपर्ने, सोझै भेटेरै भनेँ पनि नहुने त थिएन । तर, किन हो मैले कार्ड र लवलेटरलाई एकैपटक गास्न खोजेँ ? यो प्रश्नको उक्तर मसँग अहिलेसम्मनि छैन ।
उतिबेला धेरै आईडिया फुराँएथेँ, शायरी बिनानै कार्ड दिनेँ, कार्डसँगैँ लवलेटर नि दिनेँ, रगतले चिठि लेखेर दिने, हा हा ,अहिले  सम्झँदा नि  हाँस उठ्छ तर अन्तमा मेरो केहि सिप नचलेपछि उहि पुरानो सुपरहिट शायरी लेखि पठाँए ।

“one glass of water , one glass of beer, Oh my dear happy new year “
हुन त मेरा केहि मुसलमान साथीहरुले गोडा दुई हिन्दी शायरीको अप्शन नदेका त  हैनन तर भर्खर भर्खर भोजपुरबाट तराई झरेकी मेरी हुन नसेकेकी मायालुले पक्कै हिन्दी बुझदिन भन्ने मेरो अडकल थियो ।
म उनिसँग एकदमै थोरै मात्र बोल्थेँ, मनमा केहि भावना भएपछि त्यो मान्छेसँग बोल्न गाह्रो हुनेरैछ, के गर्नु? मनै त हो । अहिले लाग्छ यो संसारमा दुईटा कुराचाँही सर्वब्याप्त छ ,एउटा हो गुरुत्वोकर्षण बल अनि अर्को माया । यो दुईटाबाट अछुतो कोही छैन, म पनि छैन, तपाँई पनि हुनुहुन्न ।
उन्का ग्रुपको साथीलाई रु १ जाने पोष्टकार्ड । तर, उन्लाईमात्र किन ग्रिटिङ्ग कार्ड ? यो कुराले राम्रै चर्चा पायो, उन्का ग्रुपका केटिहरुले मसँग यस बिषयमा जिस्केरै भएनि जान्ने प्रयास गरेँ, म लुसुक्क साईकल चढेर ह्याप्पी न्यू इि यर भन्दै हिनेँ, लडाँई जितेको अनुभव भयो, हरेक गीत मिठो लागे, कोशी एफ.एम आँउथ्यो उतिबेला घर आएर गीत सुन्दैँ पल्टेँ, मनमा अर्कै बेचैनी थियो जुन मैले अहिले सम्म अनुभव गरेको छैन । अरुलाई मायामा खाना रुच्दैन भन्छन तर मलाई त्यो दिन दुई थाल खाना रुच्यो, छिटै निन्दा्र लाग्यो ।
पर्सिपल्ट स्कूलमा के हुन्छ, म प्रतिक्षामा थिँए, नुहाई धुवाई गरेर, दशैँको जुत्ता लाएर छिटै पुगेँ, लास्ट बेन्चमा बस्ने बानी, ब्याग राखेँ र क्लास अगाडी पर्खिबसेँ । उनि आएपछि के बोल्ने, कसरी बोल्ने सब तैयारी थियो तर उनि आईनन । खल्लो लाग्यो, हाफ टाईममा घर आँए म पनि ।
भोलीपल्टको मेरो तैयारी हिजोको जस्तो थिएन, अलिक रिस थियो उनिमाथी, साबिकको समयमा स्कूल पुगेँ, म आएको देखेर उन्का साथीहरु मुसुमुसु हाँस्दैथिए, मलाई बालै लागेन गएर लास्ट बेन्चमा ब्याग राखेँ । उन्को एकजना साथी र मेरो दादाको साथीको बहिनी सुश्माले मलाई तिनिहरुको बेन्च पछाडीको बेन्चमा बस्न भनिन, म गएँ र बसेँ। त्यो दिन, जो सर आएर जे प्रश्न गरेपनि म उक्तर दिन तम्सीहाल्थेँ, मैले उन्को हेन्डराईटिङ्ग देखेँ, मेरो भन्दा नराम्रो रहेछ तर त्यस पछि मलाई उ झन मन पर्दै गई, क्यार्नु ? मनै त हो ।
एकहप्तामै, म उन्लाई पुर्याउन आधाबाटोसम्म उनिहरुको ग्रुपसँग जान थाँले, मेरा केटाहरु मसँग बिच्किन थाले तर मलाई बालै थिएन। अहिले जस्तो फेसबुक थिएन, मोबाईल थिएन, उन्को घरमा फोन थिएन नत्र म दुरसंचारमै गएर भएनि उन्को फोन नंबर लिन्थिए होला । उल्टो सिरानी पारेर सुत्यो भनेँ सपनामा मनपराएको केटि देखिन्छ भनेँर मेरो साथी गोबिन्देले भनेथ्यो, लगभग एक महिना त्यस्तै गरेँ, हा हा सपनामा केही भएन ।
नाम त नलिउँ तर एकजना मेरो मिल्ने साथीको मन पनि उनिसँगै बसेको रहेछ, बिस्तारै उस्ले भिलेन खेल्न थाल्यो । हाम्रो बारेमा हल्ला र चर्चा अलि चल्नै थाल्यो जबकि न उन्ले मलाई न मैले उन्लाई प्रेमको कुरा गरेका पनि थिएनौँ, म त लव यू भनि पनि दिन्थेँ तर के गर्नु तिनका गौथँलीजस्ता साथीहरु सँधैँ अगाडी पछाडी हुन्थेँ।
सरकारी स्कूलमा शिक्षकहरु प्राय गयल नै हुने, यहि मौकामा यसो रमाईलो कार्यक्रम गरिन्थ्यो, एकपल्ट मैले पनि फिलिङ्गमा डुबेर दर्पण छाँया फिल्मको गीत टेबल ठोक्दै गाएथेँ, ताली पडकेकै थियो, त्यहि टेबल ठोक्ने अनुभवले आज आफ्नो रेकर्डिङ्ग स्टुडियोमा जिम्बे बजाउने गर्छु , केहि कुरा त सिकिएछ ।

भिलेनले भिलेन खेल्दै गयो, म हिरो हुन सकिन, हिरोईनलाई चोट परेर पर गईन, दुख्ख लाग्यो हिरोलाई पनि, भिलेनलाई पनि, हिरोईनलाई कस्तो लाग्यो थाहा भएन ?
मेरो र उन्को नाम जोडेर लव गर्छन भनेँर क्लासको भित्ता भित्तामा लेखिन थाल्यो, सकेसम्म मेटाउने प्रयास गरेँ । ब्ल्याक बोर्डमा पनि तिनै कुरा लेदिन थाल्यो, हल्ल चल्यो, धेरैल् मलाई दोषी माने, उन्ले मसँग बोल्नै छाडिन, म फेरि लास्ट बेन्चमा सरेँ ।
हयान्ड राईटिङ्ग कस्को हो ?
को स्कूल छिटै आँउछ सम्पूर्ण कुराको तहकिकात गर्न नपाँउदै उन्ले स्कूल छोडिन, मलाई साँच्चै दुख्ख लाग्यो, खल्लो लाग्यो, कविता फुर्न थाल्यो त्यसपछि ब्यापक रुपमा ।
जस्ले भिलेन खेलेको थियो, त्यस्लाई पछि मैले सकिनसकि दुई चार बजाईदिँए, मेरो मुखमा बजायो मैले नि बजाँए , दुबै रक्ताम्मे भयौँ । अचम्म सँगँले फेरि प्लस टु पढदा साथी भयौ तर मैले उस्को त्यो घताँई भुल्न सकिन ।
त्यस्को बिहेको निम्तो गईन, मनै लागेन ।अझै उसँग खासै चित्त परेको छैन, जान अन्जानमा जे भयो बिर्सन्छु भन्छु तर सकेको छैन । उनि गईसकेपछि फेरि एकलट हल्ला चल्यो क्लासमा, सुयोगले गर्दा फल्नाले स्कूल छाडेर गई भनेँर। कुरा कत्तिको सत्य थियो म आफैँलाई थाहा थिएन, तर एकतमासको ग्लानी भयो मनमा ।
अर्को आपत आईपर्यो, उन्को ठुलोबुवाको छोरा(दाई) चाँही काठमाडौमा बस्ने नाम कहलीएकै डन रहेछ, अब त्यस्ले घरमा गएर मेरोबारेमा केहि भनि भनेँ म त गएँ भन्ने डरले पछिसम्म डर लागीरहेको थियो । उस्को दाई मलाई खेज्दै आयो भनेँ के गर्ने, के भन्ने? केटाकेटी सोच न हो, प्लानीङ्ग गरिरहन्थे। तर ति दाई कहिले आएनन, बरु काठमाडौँ आएपछि कुन्नी के कामको सिलसिलामा म मेरो दादासँग ति दाईको घरमा गएर कफी खाएर नि आईयो । त्यो दिन चै ठुलै कुरा जितेको अनुभव भएथ्यो तर उम्केको माछो ठुलो हुन्छ भनेँझै उन्को बिछोड मलाई ठुलै लागेको थियो ।  एक हिसाबले जे भयो ठिकै भयो जस्तो लाग्छ, मनमा एउटा अनुभव भयो, सँगै भएको भए मायामा परिन्थ्यो अहिलेसम्म त ब्रेक अप पनि भईसक्थ्यो तर फेसबुकलाई धन्यबाद दिन चाहन्छु । २०५७ बाट २०७० सम्मको यो यात्रामा मैले २०६९ साल चैत्र २१ गते राती फेसबुकमा उन्लाई भेटेँ,उनले  भोलीपल्ट रिक्वेस्ट एक्सेप्ट गरिन । नयाँबर्षले केहि नयाँ कुरा ल्यायो यस्पाली, मैले त्यो घटनापछि पोष्टकार्ड र ग्रिटिङ्गकार्ड पठाएको छैन, यस्पाला फेरि रु १ को कार्ड किन्छु, शायरी को कमी हुन्न अब, नयाँ बर्षमा भेटेर दिन्छु एउटा साथीको रुपमा । मलाई अब उन्को दाईसँग डर पनि छैन, जे पर्ला पर्ला भेटिन्छ अब नयाँ बर्षकै दिन ।

-सुयोग ढकाल
(रेडियो कार्यक्रम साथीसँग मनका कुराका पूर्व प्रस्तोता,लेखक हुन । )

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>