कार्यकर्ता कुटपिट र पक्राउको विरोधमा बन्द : पुर्व प्रभावित (हालसम्मका घटनाहरु)



  • बन्दको अवज्ञा गर्दै यातायात व्यवसायी तथा मजदुरहरुले आजदेखि पहाडी रुटमा यातायातका सवारी साधनहरु संचालनमा ल्याएका छन् । विहान करिव ५ वटा बसहरु पहाडी रुटमा संचालनमा ल्याएको पहाडी बुकिग काउण्टरले जनाएको छ ।२४ बैशाख
  • धरान । आम जनतालाई सास्ती दिने गरी वैशाख २१ गतेदेखि जारी रहेको बन्दप्रति उद्योगी, व्यवसायी तथा यातायात सम्बद्ध मजदुर संगठनको ध्यानाकर्षण भएको आज एक विज्ञप्तिमार्फत जानकारी गराएका छन् । 
    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी अन्चल कमिटि, सुनसरी उद्योग वाणिज्य संघ, धरान, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात चालक संघ, अखिल नेपाल यातायात मजदुर संघ र संयुक्त परिवहन व्यवसायी समिति धरानले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा मन्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद्को आव्हानमा भएको बन्दका क्रममा विभिन्न स्थानमा यातायात मजदुरहरुमाथि आक्रमण भएको, साधन तोडफोड तथा आगजनी भएको र सर्वसाधारणलाई आतंकित बनाएको भन्दै त्यसको विरोध गरेका छन् । तीन दिने बन्दमा लगातार साथ दिएको भन्दै अब उप्रान्त आफ्नो पेट खाली राखेर उद्दन्ड बन्दै गइरहेको बन्द हड्ताललाई साथ दिन नसक्ने जनाएको छ । संगठनहरुले भोलि बिहानदेखि सार्वजनिक सवारीका सम्पूर्ण साधन सुचारु गर्ने, बजार तथा पसलहरुसमेत खोल्ने विज्ञप्ति मार्फत जानकारी गराएको छ साथै सबैलाई सहयोग गर्न र आन्दोलनकारीको मागलाई उचित सम्बोधन गर्न पनि विज्ञप्ति मार्फत आग्रह गरेको छ ।
    २३ बैशाख
  • बन्दका क्रममा पक्राउ परेका आफ्ना १५ कार्यकर्तालाई तत्काल छाड्नुपर्ने माग गर्दै मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताले सोमबार इलाका प्रहरी कार्यालय इटहरी घेराउ गरेका छन् । बजार, विद्यालय र सवारी साधन बन्द गराउँदै हिँडेका परिषदका १५ कार्यकर्तालाई इटरही प्रहरीले आइतबार साँझ र सोमबार बिहान पक्राउ गरेको थियो ।
    पक्राउ परेका कार्यकर्ता छुटाउनका लागि दबाव दिन धरानबाट समेत परिषदका कार्यकर्ताहरु बाँसका लाठी बोकेर इटहरी प्रहरी थाना अगाडि जम्मा भएका हुन् । कार्यकर्ताहरुको दबावपछि प्रहरीले पूर्वडीएसपी दुर्गा चौधरी र कार्यकर्ता तारकलाल चौधरी लगायत आधा दर्जनलाई रिहा गरेको छ । बाँकी कार्यकर्ता भने तोडफेडमा संलग्न रहेकाले छोड्न नमिल्ने प्रहरीले बताएपछि परिषदका कार्यकर्ताहरुले उनीहरुलाई पनि विना शर्त रिहाइ गर्नुपर्ने भन्दै प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका छन् । इलाका प्रहरी कार्यालय इटहरीले सवारीसाधन तोडफोड गर्नेहरुलाई मुद्धा नचलाई त्यसै छाड्नै नसक्ने बताएको छ । रिहाइ गर्ने बिषयमा लिम्बुवानका नेताले प्रहरीसंग वार्ता गरे पनि प्रहरीले छाड्न नसक्ने जनाएपछि वार्ता विनानिश्कर्ष टुंगिएको छ । 
    २३ बैशाख
  • मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन मिराकले मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारसंग नभइ रेग्मीलाई मन्त्रि परिषदको अध्यक्ष बनाउने चार दलका शीर्ष नेताहरुसंग मात्र अव सामुहिक वार्ता गर्ने बताए । 
    उनले रेग्मी सरकार विदेशी दलालको दवावमा गठित एकात्मक कर्मचारी सरकार भएकाले वार्ता नगर्ने बताएका छन् । उनले आज पूर्वन्युज धरानस“ग कुराकानी गर्दै भने , ‘चारदलीय सिण्डकेटको निर्देशनमा बनेको रेग्मी सरकारसंग वार्ता गर्नुको औचित्य छैन । रेग्मीलाई मन्त्रि परिषदको अध्यक्ष बनाउने चार दलका शीर्ष नेताहरुसंग मात्र अव सामुहिक वार्ता हुन्छ ।’ पहिचानसहितको संघीयता र लिम्बुवान स्वायत्तताका लागि आन्दोललनरत परिषदले पहिले यस अघिका सरकारले गरेका सम्झौता पूरा नगरेसम्म आन्दोलन जारी राख्ने बताएको छ । 
    २३ बैशाख
  • झापाको चारपानेमा ना ४ ख ६५५९ नं. को ट्रकमा बन्दकर्ताहरुले आगजनी गरेका छन् । नम्बर प्लेट छोपेर मोटरसाइकलमा आएका बन्दकर्ताले ट्रकमा आगजनी गर्नुका साथै चालकसँग भएको ३० हजार रुपैया नगद र २ वटा मोबाइल फोन समेत लुटेर लगेको पीडितले बताएका छन् । २३ बैशाख
  • धरानमा सुरु भएको तीनदिने दोस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन मेला लिम्बुवानको बन्दको कारण प्रभावित भएको छ ।
    नेपाल पर्यटन वोर्डको आयोजनामा पूर्वाञ्चलको पर्यटकीय क्षेत्रलाई पहिचान गर्दै प्रचार प्रसार गर्ने उदेश्यले शुक्रबार देखि धरान सभागृह परिसरमा पर्यटन जनचेतना मुलक मेला आयोजना गरिएपनि मंच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पुर्वका नौजिल्लामा बन्दको आव्हान गरेपछि मेला प्रभावित भएको हो ।
    नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी निर्देशक सुवास निरौलाले भने, ‘पुर्वको पर्यटनमा प्रचुर मात्रामा सम्भावना छन् । ती सम्भावनालाई यथार्थरुपमा आकार दिन १६ जिल्लाका धार्मिक, सांस्कृतिक, एतिहासिक स्थल, जनजातिय खाना, परम्पराको बारेमा प्रवद्र्धन गर्न लार्खौ खर्च गरेर धरानमा तीन दिने मेला लगाएपनि बन्दको कारण भनेजस्तो प्रचार गर्न पाइएन ।’ 
    बैशाख
  • एम्बुलेन्स चालकमाथि कुटपिट गर्ने लिम्बुवान कार्यकर्तालाई आत्मालोचनासहित माफी मगाउने र लिम्बुवान संगठनले विभागीय कार्वाही गर्ने सहमतिपछि झापामा एम्बुलेन्स सेवा सुचारु भएको छ । आज विहानबाट हड्तालमा उत्रिएका झापाका एम्बुलेन्स चालकले सहमति पछि एम्बुलेन्स सेवा सुचारु गरेका हुन् । हिजो दिउँसो विरामी बोकेको वीरता जेसीज झापाद्वारा संचालित मे १ च ३९५ नम्बरको एम्बुलेन्सका चालक नेत्रबहादुर सार्कीलाई लिम्बूवानका कार्यकर्ताले झापाको तोपगाछीमा कुटपिट गरेपछि एम्बुलेन्स चालक संघ हड्तालमा उत्रिएको थियो । पुण्यपि, विराटनगर, बैशाख
  • बन्दको अवज्ञा गरेको भन्दै आइतबार लिम्बुवानका कार्यकर्ताले सुनसरीका विभिन्न ठाउमा ९ सवारीसाधन माथि तोडफोड गरेका छन् । लिम्बुवान कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै एउटा टेम्पो, एउटा ट्याक्टर, २ वटा जिप, दुई वटा भ्यान, तीन वटा बस छन् । तोडफोडको अभियोगमा सुनसरीमा लिम्बुवानका १५ जना कार्यकर्ता पक्राउ परेका छन् । सुनसरीको इटहरीबाट नगर इन्चार्ज दुर्गालाल चौधरी, नगर उपाध्यक्ष टार्जन सुव्वा, जिल्ला सह इन्चार्ज नामसेमे लिम्बुलगायत पक्राउ परेका हुन् । बैशाख
  • बन्दको क्रममा झापामा पनि २ वटा मोटरसाइकल समेत बन्दकर्ताले जलाएका छन् भने २ वटा बस तोडफोड गरेका छन् । सो क्रममा दुई जना कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहन माबो र सन्तोष लिम्बु रहेका छन् । बैशाख
  • शुक्रबार बेलुका बुधबारेबाट पक्राउ परेका ७ जना लिम्बुवान कार्यकर्ताहरु राजारानी प्रहरी चौकीबाट आइतबार विहान सम्पर्कविहीन भएका छन् । उनीहरु नौ बजेबाट सम्पर्क विहीन भएको जनाइएको छ । ती कार्यकर्ताहरु घाइते समेत थिए । शनिबार नै उनीहरुलाई प्रहरीले छाडेपनि लिम्बुवान नेताहरुले बुझ्न अस्वीकार गरेका थिए । बैशाख
मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले गरेको आमहड्तालका कारण पुर्वको जनजीवन प्रभावित बनेको छ । पुर्वी तथा पहाडी क्षेत्रमा आंशिक मात्र यातायात चलेका छन् । मोरंगको विराटनगर तथा सुनसरीको इनरुवा पश्चिम भने यातायात चलेका छन् ।
नागरिता वितरण र फोटो सहितको मतदाता नामावली संकलनमा अवरोध गर्ने क्रममा रहेका लिम्बुवान कार्यकर्तालाई कुटपिट र पक्राउ गरेको विरोधमा गरिएको बन्द अनिश्चितकालिन भएको परिषद् अध्यक्ष कुमार लिङ्देन मिराकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वैशाख २१ गतेदेखि अरुण सप्तकोशी पूर्वको नौ जिल्लामा अनिश्चितकालीन लिम्बुवान आमहड्ताल घोषणा गरिएको उल्लेख छ ।
गत शुक्रबार धनकुटा, पाँचथर र मोरङ्को सिमानामा पर्ने बुधबारेमा प्रहरीसँग भएको झडपमा परी लिम्बुवानका सचिवालय सदस्य प्रेमथिप थाम्सुहाङ्, केन्द्रीय सदस्य एस.वि. थेगीम, एल.भी. सिनियर केन्द्रीय उपकमाण्डर मुक्साम लावुङ, पाँचथर सचिवालय सदस्य खाम्बेक आङदेम्बे, एल.भी. फिल्ड कमाण्डर अग्नी पन्धाक, मिक्लुकथुम अध्यक्ष नेल्कन माखिम, अर्थ सचिव दलबहादुर तामाङ, बाँझो अध्यक्ष राजन साम्बा घाइते भएको परिषद्ले जनाएको छ ।
photo by: Dilkumar Lawati
झडपपछि सचिबालय सदस्य प्रेमदीप थाम्सुहांग, के स सुक बहादुर थेगिम ,एल भी सिनियर उपकमान्डर मुक्शाम लाबुंग,एल भी कमान्डर अग्नि पन्धाक ,इलाम बाझो गाविस अध्यक्ष राजन साम्बा, मिक्लुक थुम अध्यक्ष नेल्कन माखिम ,पाँचथर जि स खाम्बेक आन्ग्देम्बेलार्इ प्रहरीले पक्राउ गरि दुव्र्यबहार गरेको समेत परिषद्ले आरोप लगाएको छ ।
घाइतेहरुको शिघ्र उपचार र गिरफ्तार नेताहरुको बिनाशर्त रिहाइका साथै  नागरिकता वितरण र फोटो सहितको मतदाता नामावली संकलन स्थगित नगरुन्जेल बन्द जारी रहने परिषद्ले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

रिहा हुन मानेनन् 
झडपपछि पक्राउ परेका लिम्बुवान कार्यकर्ताहरु रिहा हुन नमानेको धनकुटा जिल्ला प्रशासनले बताएको छ । धनकुटाको राजारानी प्रहरी चौकीले थुनामुक्त गर्दा पनि उनीहरु रिहा हुन नमानी चौकीमै धर्ना दिएर बसेको जनाइएको छ ।
‘कार्यकर्तालाई रिहा गर्न माग गर्दै बन्द गरेपछि रिहा गर्दा पनि ५ जना कार्यकर्ता रिहा हुन नमानी राजारानी चौकीमै बसेको प्रशासनले जनाएको छ ।
६ नम्बर बुधबारे गाविसमा आयोजित मतदाता नामावली संकलन कार्यको विरोधमा आफूहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा प्रहरीले कुटपिट गरी पक्राऊ गरेको आन्दोलनकारी नेता कुमार लिङ्देनको आरोप छ ।
यता प्रशासनले भने लिम्बुवान नेता कार्यकर्ताहरुले ल्यापटप फुटाएकोले पक्राऊ गरेको दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>