राम्रो सुरुआत,अर्गानिक गाउँ भेडेटार !

धनकुटा र सुनसरीको सीमामा रहेको भेडेटार गाविसका किसानले प्राङ्गारिक खेतीका लागि आफ्नो तहबाट राम्रो थालनी गरेका छन्।
भेडेटार–६ नाम्जेका गुञ्जमान मगरले बारीमा रासायनिक मल प्रयोग गर्न छाडेको पाँच वर्ष भयो। यो बीचमा उनले युरिया लगायतका रासायनिक मल प्रयोग नगर्न अरूलाई पनि सुझाए। नभन्दै अहिले ५,६,७ र ८ वडालाई प्राङ्गारिक गाउँ बनाउने योजना सफल भएको छ। “हामी पछि वडा नम्बर–७ थुम्कीकाले रासायनिक मल र कुनै पनि किसिमका विषादी हाल्न छाडे”, गाउँमा सबभन्दा पहिला यो पहल थाल्ने मगर भन्छन्।
 पहिला उनी आफैं एक रोपनी जग्गामा २० केजी युरिया प्रयोग गर्थे। तर, विस्तारै माटो फुक्न छाड्यो। जोतेपछि एक–एक गरेर कोदालोले डल्ला फोड्नुपर्ने भयो। त्यसमाथि, तरकारी पकाउँदा राम्ररी नपाक्ने र खाँदा पनि पहिला जस्तो स्वादै नहुने। वर्षैपिच्छे मलको मात्रा बढाउँदै जानुपर्ने समस्या आफ्नो ठाउँमा छँदैथियो। अनि मगरले बरु एक–दुई साल उब्जनी नहोस्, तर रासायनिक मल प्रयोगै नगर्ने अठोट गरे। “रासायनिक मल प्रयोग गर्न छाडेपछि उत्पादन भएन”, उनी भन्छन्, “अहिले प्राङ्गारिक मलले जितेपछि पहिलाको जस्तै राम्रो भएको छ।”

प्राङ्गारिक अभियान

धनकुटाको उत्तरपानी प्राविधिक शिक्षालयमा जुनियर टेक्निकल असिस्टेन्ट जेटीए शिक्षा लिएर आधुनिक खेती थालेका थुम्कीका हरि आलेले शुरूमा प्रशस्त रासायनिक मल प्रयोग गरे। अहिले शुद्ध प्राङ्गारिक किसान बनेका उनी रासायनिक मल नहालेको तरकारी हेर्दा सलक्क नभए पनि त्यसले स्वास्थ्यलाई राम्रो गर्ने र धेरै दिन नबिग्रने बताउँछन्। “रासायनिक मल बन्द गरेपछि माटोमा अम्लीयपना घटेको छ, खनजोत गर्न सजिलो भएको छ”, आले भन्छन्, “घाँसपात पनि राम्ररी पलाउन थालेको छ।”
नाम्जे र थुम्कीका किसानले अहिले मलपानीको पुरानै चलन बसाएर खेतीमा विविधीकरण गरेको ग्रामीण जनता उमावि, नाम्जेका शिक्षक नरबहादुर चेम्जोङ बताउँछन्। गुञ्जमान मगरकै बारीमा पनि अहिले मौसम अनुसारका तरकारी र कान्लाहरूमा चिराइतो लगायतका नगदे बिरुवाहरू छन्। वार्षिक डेढलाख आम्दानी गरिरहेका उनका लागि चिराइतोले कीटनाशकको काम पनि गर्छ।
 शिक्षक चेम्जोङका अनुसार तीन वर्षअघिसम्म नाम्जेको सैलुङ सहकारी संस्थाले एक सिजनमा दुई ट्रक डीएपी र पोटास ल्याउँथ्यो। त्यसलाई बन्द गराएका किसानहरूले अहिले प्राङ्गारिक खेतीका लागि थुम्की सिकाइ थलो स्थापना गरेका छन्। २३ रोपनी जमिनमा खोलिएको सिकाइ थलोमा प्राङ्गारिक खेतीसँगै जडीबुटीको प्रयोगात्मक अध्ययन हुन्छ। नाम्जेको उमाविमा पनि कृषि विज्ञान पढाइको तयारी भइरहेको शिक्षक चेम्जोङले बताए। “स्वच्छ वातावरण भएको हरित पहाडी गाउँ बनाउन प्राङ्गारिक खेती अभियान चलेको हो”, चेम्जोङ भन्छन्।
 उनका अनुसार, यो क्षेत्रमा उत्पादित जुनसुकै कृषि उपजको लागि बजारको खाँचो छैन। मधेश र पहाडलाई जोड्ने महत्वपूर्ण राजमार्गले छोएको यो ठाउँमा स्वस्थकर उत्पादन र प्रचारको मात्र कमी छ। नाम्जे र थुम्कीका किसानले प्राङ्गारिक चिज हो भनेर प्रचार गर्नै नसकेको गुञ्जमान मगरले बताए। “त्यसैले यहाँका उत्पादनले बजार पाएर पनि भाउ पाएको छैन”, मगर भन्छन्, “एउटा राम्रो सुरुआत चाहिं गरेका छौं।”
(Source:himalkhabar)


प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>