डनहरु फन्दामा । अवैद्य सम्पत्ती थुपारेको आरोपमा मुद्धा : कसको सम्पत्ती कहाँ र कति
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अकुत सम्पत्ति आर्जन गरेका पाँच जना डनविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।
विभागले डनहरु दीपक मनाङ्गे, पर्शुराम बस्नेत, चक्रे मिलन, गणेश लामा र अभिषेक गिरीविरुद्ध मुद्दा दायर गरेको विशेष अदालतका रजिष्ट्रार धीरबहादुर चन्दले जानकारी दिए ।
डनहरुले आर्जन गरेको सम्पत्ति ठेक्कापट्टाको कमिसन, व्यपारीलाई धम्क्याएर लिने गरेको दस्तुरी, तस्करीको कमिसनलगायतको रहेको अभियोगपत्रमा दाबी गरिएको छ । विभागले स्रोत नखुलेको सम्पत्ति तथा घरजग्गा जफत गर्न मागदाबी गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले डनहरुको सम्पत्ति स्रोतबारे तीन वर्षदेखि अध्ययन गरिरहेको थियो । विजयकुमार गच्छदार गृहमन्त्री रहेकैबला प्रतिवेदन बुझाए पनि थप अनुसन्धान गर्न भन्दै फर्काइएको थियो ।
अन्तरिम मन्त्रिपरिषद्का गृहमन्त्री माधव घिमिरेले नियुक्तिलगत्तै विभागको अनुसन्धान कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । विशेष अदालतका रजिष्ट्रार चन्दका अनुसार आइतबार दर्ता भएका पाँचसहित अहिलेसम्म २५ वटा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएका छन् । 'तीमध्ये ११ वटा फैसला भएको छ,' उनले भने, 'सबैमा सरकार पक्षको जीत भएको छ ।'
अभियोग प्रमाणित भए एकदेखि चार वर्ष कैद, बिगो र त्यसबराबरकेा जरिवाना बुझाउनुपर्दछ । गणेश लामाका आमाबाबु र दुई जना भाइ तथा अन्य चार जना डनका श्रीमतीसमेतलाई प्रतिबादी बनाइएको छ ।
कसको कति सम्पत्ति ?
राष्ट्र बैंकमा रहेको इकाइले गरेको अनुसन्धानमा 'डन' हरुले पारिवारिक सदस्य, नातेदार र कामदारको नामबाट सम्पत्ति खरिदबिक्री गरेको देखिएको छ। उनीहरुले बढीजसो ७० वर्ष उमेर पुगेका पारिवारिक सदस्य र कामदारका नामबाट आर्थिक कारोबार गरिरहेको स्रोत बताउँछ। यसमा घरजग्गा कारोबार र राजनीतिक आड पाएका व्यापारीको पनि संलग्नता देखिएको स्रोतले बतायो। चल सम्पत्ति न्यून देखिए पनि अचल सम्पत्ति भने मनग्गे छ ।
सबैभन्दा लामो सम्पत्तिको फेहरिस्त लामाको देखियो। काभ्रे खहरेपाँगु स्थानीय र कोटेश्वर महादेवस्थान अस्थायी ठेगाना रहेका लामा र उनको परिवारका नाममा विभिन्न कम्पनी, पेट्रोल पम्प र जग्गामा प्रसस्त लगानी रहेको खुल्यो। लामा, उनका बाबु, श्रीमती र भाइका नाममा रहेको सम्पत्ति विवरण अनुसन्धान अधिकारीले फेला पारेका छन्। लामाको नाममा काठमाडौं, भक्तपुर र ललितपुरमा २ सय ५ रोपनी जग्गा खुलेको छ।
उनको बाबुका नाममा भक्तपुरमा ७ आना र काभ्रेमा करिब ३६ रोपनी जग्गा देखिएको छ। उनकी श्रीमतीको नाममा काठमाडौं महानगरपालिका १० वडामा तीन आना तीन पैसा जग्गामा बनेको तीनतल्ले घर छ। उनका दुई जना भाइको नाममा करिब १५ रोपनी जग्गा खुलेको छ।
उनको आमाको नाममा काभ्रेमा करिब पाँच रोपनी जग्गा देखियो। लामाको नाममा प्राडो, मारुती कार, निजी लोडर स्काभेटर लगायत आठ वटा सवारीसाधन खुलेको छ।
अचल सम्पत्तिको तुलनामा उनी र उनको परिवारको नाममा नगद मौज्दात भने न्यून छ। लामाको नाममा विभिन्न बैंकमा जम्मा ५३ हजार सात सय रुपैयाँ मौज्दात र एक हजार आठ सय अमेरिकी डलर मात्र खुलेको छ।
उनको भाइका नाममा एक लाख १६ हजार रुपैयाँ र एक हजार पाँच सय अमेरिकी डलर, बाबुका नाममा ५९ हजार रुपैयाँ श्रीमतीका नाममा सात हजार सात सय रुपैयाँ मौज्दात फेला परेको छ।
उनको नाममा सिरुवा निर्माण कम्पनी, वाइबा कन्स्ट्रक्सन कम्पनी प्रालि, स्मृति निर्माण फर्म र मेलम्ची क्रसर उद्योग दर्ता छ। सिरुवाको नाममा विभिन्न बैंकमा दुई लाख २२ हजार रुपैयाँ र पाँच हजार चार सय अमेरिकी डलर, वाइबाको नाममा चार हजार रुपैयाँ, स्मृति निर्माणका नाममा १० हजार रुपैयाँ र १९ हजार डलर र मेलम्चीका नाममा ७२ हजार रुपैयाँ फेला परेको छ।
सिरुवामा उनका नाममा ८२ लाखको सेयर खुलेको छ भने स्मृतिमा १५ लाख, दाजुको नाममा १० लाखको सेयर छ। रात्रिकालीन व्यवस्थामा सक्रिय भए पनि ठमेलको बियर बारमा मात्र आठ प्रतिशत सेयर खुलेको छ। कोटेश्वरमा उनको नाममा जिएलएन आयल स्टोलमा पाँच लाख लगानी र पुरानो बानेश्वरमा उनको भाइका नाममा न्यु लक्ष्मी आयल स्टोलमा पाँच लाख लगानी देखिएको छ।
दीपक मनाङ्गे- १४ करोड ७३ ३१ हजार ८ सय ६ रुपैयाँ
पर्शुराम बस्नेत- ११ करोड ६१ लाख ४१ हजार ९ सय ७७ रुपैयाँ ३७ पैसा
पर्शुरामको पनि नगद मौज्दात धेरै खुल्न सकेको छैन। उनी र उनका सहयोगी मुकेश बस्नेतका नाममा मोरङमा ४२ रोपनी जग्गा खुलेको छ। मोरङमा उनको श्रीमती र सहयोगीका नाममा घर तथा जग्गा भए पनि ती सबै बिक्री गरिसकेको देखिएको अनुसन्धान स्रोतले बतायो। उनका नाममा तीन वटा गाडी र तीन वाट मोटरसाइकल खुलेको छ। पर्शुराम र उनको सहयोगीका नाममा एडजोन एड्भरटाइजिङ, पिआर हार्डवेयर, बगलामुखी बिल्डर्स, गजलक्ष्मी ट्रेड, मेरो ट्राभल्स, वेलकम पार्टी प्यालेस र टेकेन्द्र निर्माण सेवा छ। पर्शुरामका नाममा नेपाल बजार इन्टरनेसनलमा २१ हजार कित्ता सेयर फेला परेको छ।
दिपक मनाङेको नाममा कुनै पनि अचल सम्पत्ति फेला परेको छैन। उनको श्रीमतीका नाममा काठमाडौंमा करिब तीन रोपनी जग्गा र घर तथा नुवाकोटमा ७७ रोपनी १३ आना जग्गा फेला परेको छ। उनको गोसाइकुण्ड क्रसर रोडा ढुंगाको नाममा मकवानपुरमा १४ कट्ठा जग्गा खुलेको छ। विभिन्न बैंकमा उनको नाममा दुई हजार ५ सय ६२ रुपैयाँ खुलेको छ भने उनकी श्रीमतीका नाममा ५६ हजार देखिएको स्रोतले बतायो। दिपकको नाममा गोसाइकुण्ड क्रसर, ओम मल्टिपरपोज, इच्छामाई र वेस्ट पोइन्ट ढुंगा रोडामा गरी करिब ५० लाख सेयर लगानी रहेको अनुसन्धानस्रोतले फेला पारेको छ।
चक्रे मिलन- ७ करोड ७ लाख १७ हजार २ सय २६ रुपैयाँ ४१ पैसा
अन्य तीन जनाको तुलनामा चक्रे मिलनको चल/अचल दुवै सम्पत्ति कममात्र खुलेको छ। स्रोतका अनुसार काठमाडौंमा उनको नाममा सात आना जग्गामात्र खुल्यो। उनको परिवारको नाममा काठमाडौं र गोरखामा गरी करिब ३० रोपनी जग्गा देखियो। ब्युरो र विभागका अनुसन्धानकर्ताले उनका नाममा कुनै सवारीसाधन फेला पारेनन्। उनको परिवारका नाममा दुई वटा कार र एउटा स्कुटर खुल्यो। बैंकमा उनका नाममा दुई लाख ४८ हजार रुपैयाँ देखियो भने परिवारको सदस्यका नाममा करिब दुई लाख रकम खुल्यो। उनका भाइ तेजेन्द्रका नाममा तीन हजार देखियो।
अभिषेक गिरी- २ करोड, ९४ लाख ४६ हजार ५ सय ८८ रुपैयाँ ७२ पैसा
जेठ ६, nagarik, kantipur and others
प्रतिक्रिया दिनुहोस् >>
