बढ्दो बैंक शाखा : देशभरमा एक हजार ४४५
Posted by
purwanews
Published on
Monday, May 13, 2013
राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक सुपरिवेक्षण प्रतिवदेन अनुसार अहिले शाखा सञ्जाल १ हजार ४ सय २५ पुगेको छ। अघिल्लो वर्ष यो १ हजार २ सय ४५ वटा थियो। तीन वर्षअघि शाखा ९ सय ८० वटा थियो। बैंकहरुको संख्यामा आएको वृद्धि र उनीहरुको आन्तरिक प्रतिस्पर्धाका कारण शाखा सञ्जाल विस्तार भएको हो।
बैंकहरुले विस्तार गरेको शाखाहरु काठमाडौं उपत्यका र यस वरपरका क्षेत्रहरुमा बढी छ। यो क्षेत्रमा बैंकको शाखा ७ सय ९ वटा छ। सबैभन्दा कम शाखा सञ्जाल सुदूरपश्चिमाञ्चल क्षेत्रमा छ। यो क्षेत्रमा जम्मा ८५ वटा शाखा छन्।
बैंकहरुले पूर्वाञ्चलमा २ सय ५५ वटा शाखा विस्तार गरेका छन्। २ सय ५६ वटा शाखा पश्चिमाञ्चल क्षेत्रमा छ। १ सय २० वटा शाखा मध्यपश्मिाञ्चल क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको कुल सम्पति २३.०४ प्रतिशत बढेर १० खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सम्पति १०.१३ प्रतिशतले बढेको थियो। यसमध्ये ग्राहकलाई लगानी गरेको ऋण (सम्पति) को हिस्सा अधिक छ। बैंकहरुको कुल सम्पतिमा ५९ प्रतिशत ग्राहकलाई दिएको ऋणको हिस्सा छ। १८ प्रतिशत सरकारी ऋणपत्र तथा बन्डका रुपमा रहेको छ। १६ प्रतिशत सम्पति नगद र बैंक मौज्दातका रुपमा रहेको छ भने दुई प्रतिशत मात्र स्थिर सम्पति छन्।
बैंकहरुको दायित्वमध्ये ८६ प्रतिशत सर्वसाधारणबाट उठाएको निक्षेप छ। ७ प्रतिशत पुँजीका रुपमा र अन्य दायित्व ४ प्रतिशत रहेको प्रतिवेदनमा छ। बैंकहरुले उठाएको निक्षेपमध्ये ३५ प्रतिशत बचत खातामा रहेको छ। ३४ प्रतिशत मुद्दति खातामा निक्षेप छ भने ११ प्रतिशत चालु खातामा छ। वाँकी २० प्रतिशतमा अन्य खातामा रहेको छ।
बैंकहरुको सबैभन्दा बढी लगानी उत्पादनमूलक (उद्योग कलकारखाना) मा गरेको देखिन्छ। यसमा कुल लगानीको २३.०९ प्रतिशत छ। १८.१० प्रतिशत होलसेलर र रिटेलर (थोक तथा खुद्रा) मा छ भने ११.२० प्रतिशत अन्य क्षेत्रमा लगानी गरेका छन्। बैंकहरुल्े ९.८० प्रतिशत निर्माण उद्योगमा लगानी गरेको प्रतिवेदनमा उल्लेख छ। कुल लगानीको ६.१६ प्रतिशत यातायात र सञ्चारमा लगानी छ। वाँकी ८.९५ प्रतिशत फाइनान्स, इन्स्योन्स्स लगानी रहेको छ। बैंकहरुको कुल लगानीमध्ये ७२ प्रतिशत सरकारी ऋणपत्र र २६ प्रतिशत सेयर तथा डिवेन्चरमा भएको छ। वाँकी २ प्रतिशत अन्य क्षेत्रमा छ। बैंकहरुले ऋण भनेर ग्राहक र लगानी भनेर सरकारी ऋणपत्र तथा सेयरमा पैसा लगाउँछन्।
बैंकहरुले सबैभन्दा बढी सम्पति (घरजग्गा) को धितोमा ऋण दिने गरेका छन्। ८४.५ प्रतिशत ऋण घरजग्गा तथा अचल धितोमा दिने गरेका छन्। यद्यपी घरजग्गा धितो राखेर ऋण लिने चलन भने विस्तारै कम हुँदै गएको प्रतिवेदनमा उल्लेख छ। ८४.९२ प्रतिशत घरजग्गा धितोमा ऋण दिइएको छ। यसअघि ८५.५५ प्रतिशत र यसको एक वर्षअघि ८५.९ प्रतिशत लगानी घरजग्गा धितो राखेर दिने गरिन्थ्यो।
अहिले सुनचाँदी धितो राखेर ऋण दिने क्रम बढेको छ। यद्यपी यसको हिस्सा भने धेरै छैन। सुनचाँदी धितोमा ३.४१ प्रतिशत ऋण दिइएको छ। यसअघि २.९६ प्रतिशत ऋण सुनचाँदी धितोमा दिने गरिएको थियो। पछिल्लो समय बैंकहरुले साना साना ऋणहरु सुन धितोमा दिनका लागि स्किम नै ल्याउन थालेका छन्।
राष्ट्र बैंक प्रतिवदेन अनुसार अहिले सबैभन्दा बढी कर्जा 'माग र चालु पुँजी' का लागि जाने गरेको छ। यस्तो ऋणको हिस्सा २४.९६ प्रतिशत छ। यसपछि ओभरड्राफ्ट (अधिविकर्ष) कर्जाको हिस्सा १७.२६ प्रतिशत रहेको छ। १४.०१ प्रतिशत ऋण आवधिक (टर्म) ऋण जाने गरेको छ। रियलस्टेटका लागि जम्मा ११.१९ प्रतिशत ऋण गएको छ। सेयर खरिद गर्नका लागि बैंकहरुले ५.१४ प्रतिशत ऋण दिएका छन्।
वाणिज्य बैंकहरुको खराव कर्जा १६ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। यसमध्ये राष्ट्रिय वाणिज्य र नेपाल बैंकको मात्र ७ अर्ब ४८ करोड रुपैयाँ खराव ऋण छ। बाँकी खराब कर्जा (९ अर्ब १२ करोड) ३० वटा वाणिज्य बैंकको हो।
बैंकहरुको नाफा बढ्दो
फराकिलो ब्याज अन्तर र सम्पत्ति लिलाम गरेर बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पनि उच्च नाफा कमाएका छन् । निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) फराकिलो भएका कारण पनि नाफा बढेको हो ।
चैतसम्म तीन बैंकले नाफा अर्ब नै कटाएका छन् । नबिलले गत पुसमा नै नाफा अर्ब कटाएको थियो । नेपाल इन्भेस्टमेन्ट र एभरेस्ट बैंकले चैतमा अर्ब नाफा कटाएका हुन् । अहिलेसम्म वित्तीय विवरण सार्वजनिक गर्ने बैंकमध्ये नेपाल बंगलादेश बैंक वाहेक सबैको नाफा बढेको छ। सञ्चालनमा रहेका ३२ बैंकमध्ये १८ वटाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
चालु आर्थिक वर्षको असोज मसान्तमा बैंकको नाफा ४१ प्रतिशतले बढेको थियो। गत पुसमा अझ बढी ५० प्रतिशतले नाफा वृद्धि भएको थियो। चैतको नाफा वृद्धि दर पनि उच्च देखिएको छ। बैंकहरुले यसपालि धमाधम धितो सम्पत्ति लिलाम गरेर पैसा उठाइरहेका छन्। निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) फराकिलो भएका कारण पनि नाफा बढेको हो।
नबिल बैंक लिमिटेडले चैतसम्ममा १ अर्ब ५३ करोड नाफा गरेको छ। पुसमा बैंकले नाफा १ अर्ब ११ करोड गरेको थियो। गत चैतमा बैंकको नाफा १ अर्ब १२ करोड थियो। बैंकको प्रति सेयर आम्दानी ८३.९१ रुपैयाँ छ।
नेपाल इन्भेस्टमेन्ट बैंकले पनि चैतमा नाफा १ अर्ब ३४ करोड रुपैयाँ पुर्यारएको छ। अघिल्लो चैतमा बैंकले ८० करोड १० लाख नाफा गरेको थियो। गत पुससम्म बैंकको नाफा ८९ करोड १२ लाख रुपैयाँ थियो। बैंकको प्रति सेयर आम्दानी ४७.६ रुपैयाँ छ।
एभरेस्ट बैंकले चालु वर्षको पहिलो नौ महिनामै नाफा १ अर्ब नघाएको छ। बैंकको नाफा १ अर्ब ३ करोड रुपैयाँ पुर्याटएको हो। अघिल्लो चैतमा बैंकको नाफा ७८ करोड ६४ लाख रुपैयाँ थियो। पुसमा बैंकको नाफा ६४ करोड २४ लाख थियो। बैंकको प्रति सेयर आम्दानी ८६.१३ रुपैयाँ छ।
नेपाल बंगलादेश (एनबी) बैंकको नाफा अघिल्लो वर्षको भन्दा घटेको छ। अघिल्लो वर्षको चैतमा ४८ करोड नाफा गरेको बैंकले यसपालि जम्मा ३१ करोड ८ लाख रुपैयाँ नाफा गरेको छ। गत पुसमा बैंकको नाफा १७ करोड १७ लाख रुपैयाँ थियो।
कृषि विकास बैंकले भने अर्बभन्दा साढे ५ करोड कम नाफा पुर्याेएको छ। बैंकको नाफा चैतमा ९४ करोड ५३ लाख पुगेको छ। अघिल्लो चैतमा नाफा ८५ करोड ७२ लाख थियो। गत पुसमा बैंकको नाफा ५४ करोड ६३ लाख रुपैयाँ थियो। नाफा बढेपछि प्रति सेयर आम्दानी ४१.५० रुपैयाँ पुगेको छ। बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत लाभांस दिएको थियो।
सिद्धार्थ बैंकको नाफा २८ करोड ४१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो चैतमा नाफा १४ करोड ८२ लाख रुपैयाँ थियो। लक्ष्मी बैंकको नाफा २५ करोडबाट बढेर २७ करोड ७९ लाख पुगेकेा छ। गत पुसमा बैंकको नाफा १६ करोड २२ लाख थियो। जनता बैंक नेपालले चैतमा १२ करोड ५८ लाख नाफा कमाएको छ। गत वर्ष यति बेलाको नाफा ४ करोड ३७ लाख रुपैयाँ थियो।
प्राइम कमर्सियल बैंकले ३८ करोड ८० लाख नाफा कमाएको छ। अघिल्लो चैतमा नाफा १७ करोड ११ लाख रुपैयाँ थियो। नेपाल एसबिआई बंैकको नाफा ३१ करोड ९० लाखबाट बढेर ५४ करोड ९४ लाख रुपैयाँ पुगेको छ। सनराइज बैंकले ७ करोड ९४ लाख रुपैयाँको नाफालाई बढाएर २१ करोड ८४ लाख रुपैयाँ पुर्याँएको छ।
ग्रान्ड बैंक नेपालको नाफा पनि १४ करोड ११ लाख रुपैयाँबाट बढेर १६ करोड १८ लाख रुपैयाँ पुगेको छ। ग्लोबल आइएमई बैंकको नाफा १७ करोड २२ लाखबाट बढेर ३८ करोड १० लाख रुपैयाँ पुगेको छ। नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकले पनि नाफा दोब्बरले बढाएको छ। एनसिसीको नाफा ११ करोड ५२ लाख रुपैयाँबाट बढेर २३ करोड ८८ लाख रुपैयाँ पुगेको छ।
कमर्ज एन्ड ट्रस्ट बैंकको नाफा ह्वात्तै वढेर ५ करोड ७४ लाख पुगेको छ। अघिल्लो चैतमा बैंकको नाफा ३९ लाख रुपैयाँमात्र थियो। एनएमबी बैंकले यो वर्ष २६ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्षकेा यति बेला बैंकको नाफा ६ करोड ६७ लाख रुपैयाँ थियो। बैंक अफ काठमाण्डू (बिओके) को नाफा ४० करोडबाट बढेर ४२ करोड ७८ लाख रुपैयाँ पुगेको थियो।
सानिमा बैंकको नाफा करिब ३ गुणाले बढेर २१ करोड १५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो चैतमा बैंकले ७ करोड ८३ लाख रुपैयाँ थियो। सिटिजन्स् बैंक इन्टरनेशनलले चैतमा २२ करोड ८५ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो चैतमा बैंकको नाफा जम्मा १० करोड ४ लाखमात्र थियो।
वैशाख ३०, nagariknews
प्रतिक्रिया दिनुहोस् >>
