कर ???
Posted by
purwanews
Published on
Sunday, April 28, 2013
कर बाध्यताले तिर्ने दायित्व हो । यो उखान अहिले पनि नेपाली समाजमा धु्रबसत्य सिद्धान्त झै रहिआएको छ । वात्सवमा त्यस्तो बाध्यताले तिर्नु पर्ने चिज के हो ? कर किन तिर्ने ? यो कसरी तिरिन्छ ? यो नतिर्दा के हुन्छ ? आउनुहोस यी र यस्तै प्रश्नको जवाफ खोज्ने प्रयाश गरौं ।
कर भने एउटा नेपाली उखान छ, “कर” भनेको करले तिर्ने रकम हो अर्थात, “कर” रहरले तिरिदैन यो एक किसिमको को कुनै पनि ब्यक्ति, फर्म, साझेदारी, कम्पनी, निकाय, संघ सस्था आदिले आम्दानी, सम्पत्ति, उत्पादन, आयत, निर्यात, बिक्रि, सेवा आदिमा सरकारलाई अनिबार्य रुपमा बुझाउनुपर्ने आर्थिक भुक्तानी हो । नेपालमा सरकारले बिभिन्न कानुनको प्रयोग गरि बिभिन्न नामबाट कर उठाउदै आएको छ, भने हामीले पनि थाहा पाई वा नपाई कर तिर्दै आएका छौं । सामान्यतया नेपालमा सरकारले मुख्यरुपमा निम्न करहरु उठाउदै आएको छ ।
क) आयकर (आयकर ऐन, २०५८ अनुसार)
ख) मुल्य अभिबृद्धि कर (भ्याट) (मुल्य अभिबृद्धि कर ऐन, २०५२ अनुसार)
ग) भन्सार महसुल (भन्सार ऐन, २०६४ अनुसार)
घ) अन्त शुल्क (अन्त शुल्क, २०५८ अनुसार)
माथी उल्लेख गरिएका कर मध्ये आयकर प्रत्यक्ष रुपमा तिरिने कर हो अर्थात यो कर जसको आय हुन्छ, उसले प्रत्यक्ष रुपमा नै तिर्नु पर्दछ । उसले आफ्नो आयबाट केहि हिस्सा (आयकर ऐन, २०५८ अनुसार हिसाब गरेर) बराबरको रकम कटाएर कर तिर्नु पर्दछ । साथै, बाँकि माथी उल्लेख गरिएका करहरु मुल्य अभिबृद्धि कर, भन्सार महसुल र अन्त शुल्क भने सुरुमा एउटा ब्यक्तिले तिरे पनि त्यसको भार बहन गर्ने ब्यक्ति अर्कै हुन्छ । जस्तै भन्सार महसुल सुरुमा आयतकर्ताले आयतको समयमा भन्सार कार्यालयमा नै तिरेको हुन्छ तर सो आयतकर्ताले नेपालमा सामान बिक्रि गर्दा सो भन्सार महशुल पनि खरिदकर्तासंग उठाउदछ । यसप्रकार त्यो भन्सार महशुल तिर्ने बास्तबिक ब्यक्ति भने अन्तिम खरिदकर्ता हुन्छ ।
हरेक नागरिकले देशको कानुन मान्नु उसको दायित्व हुन्छ । सरकारले देश सञ्चालन तथा बिकाशका लागि बिभिन्न ऐन तथा कानुन नागरिक माथी लगाई कर उठाइरहेको हुन्छ । यिनै ऐन तथा कानुनले कर तिर्नु हरेक नागरिकको दायित्व निर्धारण गरेको छ । अर्को कोणबाट हेर्दा यहि उठाएको कर रकमबाट सरकारले देश चलाउन र बिकाश गर्न खर्च गर्दछ । सरकारको बिभिन्न आयको श्रोत मध्ये कर मुख्य आयश्रोत हो । नेपालको अन्य आम्दानीको हिस्सा ठुलो नभएको कारणले यदि नागरिकले कर नतिरेमा देश नै चल्न नसक्ने स्थिति पैदा हुन सक्ने देखिन्छ ।
माथी नै उल्लेख गरिएको छ कि कर दुई प्रकारबाट तिरिन्छ , एउटा कर तिनुपर्ने ब्यक्ति आफैले प्रत्यक्ष रुपमा कर तिरेर र अर्को प्रकारमा, कर तिर्नु पर्ने ब्यक्तिले अप्रत्यक्ष रुपमा बिक्रेता मार्फत थाहा पाई वा नपाई कर तिरिन्छ । प्रत्यक्ष रुपमा तिरिने करको दायित्व स्वयं तिर्नु पर्ने ब्यक्तिमा रहन्छ , भने अप्रत्यक्ष रुपमा तिरिने करको दायित्व भने तिर्नुपर्ने ब्यक्तिबाट तिरिने ब्यक्तिमा सारिन्छ । तिर्नुपर्ने प्रक्रिया भने करको किसिम अनुसार फरक फरक हुने गर्दछ ।
अब प्रश्न उठ्लो कर नतिरे के हुन्छ ? माथि नै उल्लेख गरियो, देशको ऐन कानुन मान्नु हरेक नागरिकको कर्तब्य हो । कर तिर्नुपर्ने दायित्व यिनै ऐन कानुनले निर्धारण गरेका हून् । यदि ऐनले निर्धारण गरेको कर नतिरेमा यि कानुन उल्लङ्घन गरेको मानिन्छ र जुन कर सम्बन्धि कानुन उल्लङ्घन गरेको छ, सोहि बमोजिम जरिवाना तथा सजाय हुने ब्यबस्था छ । यदि कसैले कर सम्बन्धि कानुनको ज्ञान नभएकै कारणले कर नतिरे पनि, उसले कर सम्बन्धि कानुन उल्लङ्घन गरेको मानि तिर्न पर्ने दायित्वबाट उ कहिल्यै मुक्त हुन सक्दैन त्यसकारण, कर सम्बन्धि ज्ञान नभएकै कारणले करको दायित्वबाट उन्मुक्ति नपाउने भएकाले हरेक नागरिकले कर सम्बन्धि जानकारी लिन अत्यन्त जरुरी छ ।
यसप्रकार, हरेक सभ्य नागरिकले करलाई दायित्वको रुपमा नलिई आफ्नो देश प्रतिको कर्तब्यको रुपमा लिनु पर्दछ किनभने “हामीले तिरेको कर हाम्रै बिकाशका लागि, आधुनिक र समृद्ध नेपाल निर्माणका लागि” ।।
लेखक चार्टर्ड एकाउन्टेन्सीका फाइनल तहका बिद्यार्थी हुन् ।
शेष मणि दाहाल
sheshmani.dahal@gmail.com
प्रतिक्रिया दिनुहोस् >>