मलेसियामा ८ जना नेपालीको हत्या
Posted by
purwanews
Published on
Monday, March 25, 2013
मलेसियाको जोहोरस्थित पासिर गुडाङमा रहेको एक कम्पनी होस्टलमा हतियारधारी समूहले आक्रमण गरी ८ जना नेपालीको हत्या गरेको बताइए पनि पुष्टी हुन सकेको छैन । उपचारका लागि लगिएको भनिएको अस्पताल पुगेको नेपाली दूतावासका प्रतिनिधिले दुई जना घाइतेलाई मात्र त्यहाँ भेट्टाएका छन् ।
सामान्य विवादमा गएराति स्थानीय युवाले हतियार सहित होस्टेलमा प्रवेश गरी आक्रमण गरेको थियो ।
अस्पतालमा भेटिएका घाइतेहरुमा नुवाकोटका राजु विश्वकर्मा र अर्का एक साह थरका तराई मूलका रहेका छन् । उनीहरुको पनि बिस्तृत विवरण पाउन सकेको छनै । त्रसित भएकाले त्यस क्षेत्रका नेपालीले फोनसमेत उठाएका छैनन् ।
घट्नाबारे थप बुझ्न त्यहाँस्थित परराष्ट्र मन्त्रालयमा कार्यवाहक राजदूत लेखनाथ भट्टराईलाई पठाईको छ भने काठमाडौंस्थित मलेसियन राजदूतलाई परराष्ट्र मन्त्रालय बोलाइएको घिमिरेले बताए ।
तामान चिन्तानास्थित भेन्चर कम्पनीनजिकै रहेको अर्को एक कम्पनीको होस्टलमा झगडाले उग्र रुप लिए पछि अहिले त्यस क्षेत्र तनावग्रस्त छ । त्यहाँ कसैलाई पनि प्रवेश दिइएको छैन । 'शुरुमा एक स्थानीय युवासंग सामान्य विवाद भएपछि नेपालीमाथि हतियारधारीले होस्टलमै प्रवेश गरी आक्रमण गरेका रहेछन्,' नाम नबताउने शर्तमा नजिकैको अर्को एक कम्पनीमा कार्यरत नेपालीले टेलिफोनमा भने । घटनाका घाइतेहरुको त्यहाँको सुल्तान इस्माइल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
'हामी बेलुका बसमा कोठामा आउँदै गर्दा हुलका हुल मान्छेहरु चिच्याउँदै भागदौड गरिरहेका थिए । हातमा तरबार र चक्कु लिएका मान्छेहरु होस्टल परिसरमै थिए ।'नजिकैको अर्को कम्पनीमा कार्यरत एक नेपाली युवाले भने 'हामी आफ्नो कोठामा आएपछि विभिन्न हल्लाहरु चलिरहेका छन् । केही बुझ्न सकिएको छैन ।'
उनका अनुसार होस्टलको ब्लक २० मा सो घटना भएको थियो । आइतबार बेलुका करिब ७ बजे भएको सो घटनामा स्थानीयहरु पनि घाइते भएका छन् र घटनापछि केही बेरमै प्रहरी घटनास्थल पुगेको थियो । घटना नियन्त्रणमा लिन केही राउण्ड हवाइफायर समेत गर्नु परेको बताइएको छ ।
घटनास्थल राजधानी क्वालालम्पुरबाट करिब ३ सय ४४ किमी पश्चिममा पर्दछ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।
उता, काठमाडौंस्थित नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा नेपालीबीचको झगडामा दुई नेपाली घाइते भएको खबर आए पनि कसैको मृत्यु नभएको जनाएको छ । 'भेन्चर कम्पनीमा वैधानिक र अवैधानिक रुपमा बसेका नेपालीबीच झगडा हुँदा दुई घाइते भएका हुन्, कसैको मृत्यु भएको छैन' संघका महासचिव कमल तामाङले भने, 'गैर कानुनी रुपमा बसेका नेपालीले मलेसियनहरुलाई उठाएर वैधानिक रुपमा बसेकामाथि अक्रमण गरेका हुन् ।'
मलेसिया, चैत्र १२, ekantipur
प्रतिक्रिया दिनुहोस् >>
