ओझेलमा सुनाखरीको राजधानी
५२ प्रजातिका सुनाखरी, धिमाल जातिको पुजास्थल, विश्वमै दुर्लभ वन्यजन्तु तथा चराको वासस्थान लगायतका विशेषता बोकेको मोरंगको भोगटेनीस्थित राजारानी क्षेत्र सम्भावना हुँदा हुँदै पनि ओझेलमा परेको छ ।
विकासको लागि सरकारी तवरबाट कुनै प्रयास नहुँदा प्रचुर पर्यटकीय सम्भावना बोकेको सो स्थल को विकासमा सम्बन्धित पक्षले ध्यान नदिएको स्थानियको गुनासो छ ।
मोरङको पुरानो बजार लेटाङबाट ३ किलोेमिटर उत्तर पुर्वमा रहेको राजारानी क्षेत्रमा एकै ठाउँमा ५२ प्रजातिको सुनाखरी पाइने हुँदा सुनाखरीको राजधानी समेत भन्ने गरीन्छ । सुनाखरीको अध्ययनका लागि देश विदेशबाट अध्येताहरु आउने गरेका छन् । यहाँ पाइने तीन प्रजातिका सुनाखरी त विश्वमै लोप भइसकेका भनेर समेत विज्ञहरुले जानकारी दिएका छन् । यस क्षेत्रमा राजाताल रानी ताल र राजकृमारी पोखरी रहेका छन् । सो क्षेत्रमा विश्वकै दुर्लभ चरा काँडेभ्याकुर, पाटे बाघ, सालक, मयुरलगायतका जंगली पशु पंक्षी पाइन्छन् ।
प्राकृतिक सम्पदासँगै ऐतिहासिकतासँग पनि राजारानी जोडिएको छ । विराट राजाको ऐतिहासिकतासँग जोडिएको उक्त स्थानमा रानीको वियोगमा राजाले देह त्याग गरेको कथा प्रचलनमा छ । राजा र रानीको सम्झनामा वषौं अघिदेखि सो क्षेत्रमा मन्दिर बनाइ पुजाआजा समेत गर्ने गरिएको छ । धार्मिक आस्थालाई समेत राजारानीले प्रतिनिधित्व गरेको छ ।
राजारानी क्षेत्रमा पर्यटन प्रवद्र्धनको लागि भौतिक पुर्वाधारको कमी छ । राम्रो बाटो नहुँदा आवत जावतमा समस्या पर्ने गर्छ । ठूला सवारीका साधनहरु जाने राम्रो बाटो छैन । वर्षा लागेपछि त साना सवारीका साधन समेत जान गाह्रो पर्छ । यस्तो अवस्थामा लगाइएका मेलाहरुको लागि सामान लान र स्टल राख्न नै समस्या हुने गरेको स्थानियको गुनासो छ । गत वैशाखको पहिलो साता राजारानीमा लगाइएको राजारानी महोत्सवसमेत यातायात समस्याकै कारण घाटामा गएको महोत्सव आयोजकको गुनासो छ ।
स्थानिय तेजप्रसाद तिम्सिनाले बाटो अभावको कारण सामान महोत्सव स्थलसम्म ल्याउन नसकेको गुनासो गरे । ‘स्टल र आगन्तुक दुवै राख्न सकिएन ।’ उनले भने, ‘सम्भावना हुँदा हुँदै पनि सडक अभावले विकास हुन सकेको छैन ।’ सिमसार क्षेत्रमा हरियो वन र पिकनिकको लागि बनाइएका पिकनिक स्पोटहरु र आश्रम स्थलहरुले आगन्तुकलाई लोभ्याउने गरेको छ । तर राम्रो बाटो नहुँदा सोचेमात्रामा पर्यटकहरु नआएको गुनासो छ । भोगटेनी बजारदेखि राजारानीसम्मको १४ किलोमिटर बाटोलाई स्तरोन्नती गर्दै पुर्व पश्चिम महेन्द्र लोकमार्गबाट उत्तर भोगटेनी सम्मको सडकलाई कालोपत्रे गनृ सकेमा आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र राजारानी बन्नेमा स्थानियहरु विश्वस्त छन् ।
राजारानीमा रहेको धिमाल जातिको ऐतिहासिक र साँस्कृतिक उत्पत्तीस्थलमा प्रत्येक वैशाख २ गते मेला समेत लाग्ने गरेको छ । सोही मेलालाई आधार बनाएर महोत्सव आयोजना गरिएको थियो । धिमाल जातीको विशेष आस्थाको स्थल राजारानी हो । धिमाल जातिले सो स्थानलाई आफ्नो तीर्थस्थलको रुपमा लिदै आएका छन् । मेलामा पुजा गर्न नेपालका विभिन्न स्थानबाट धिमाल समुदायको जमघट राजारानीमा हुने गरेको छ ।
राजारानीबाट झापाको दमक, मोरङको उर्लाबारी, पथरी र लेटाङ बजार प्रस्ट देख्न सकिन्छ । उत्तरी मोरंगका आधा दर्जन बढी गाविसको दृश्यावलोकन गर्न राजारानी उपयुक्त ठाउँ बन्न सक्छ । राजारानी क्षेत्रमा पिकनिकका लागि पुग्ने समुहहरुको लागि चिसाङ खोलाको झोलुङ्गे पुल समेत आकर्षणको केन्द्र बन्ने गरेको छ । राजारानी चुरे क्षेत्रमा रहेको पोखरी हो । नेपालको चुरे क्षेत्रमा यस्तो सिमसारयुक्त पोखरी रहेको दुर्लभ रहेको तामाङको दावी छ ।
जिल्ला विकास समिति, गाउँ विकास समिति र स्थानिय जनताको सहभागितामा उक्त क्षेत्रमा सामान्य विकास निर्माण गरिएपनि बाटो लगायतका आधारभुत पुर्वाधारको अवस्था दयनीय छ । यस क्षेत्रलाइ जिल्ला विकास समिति मोरङले पनि पर्यटकिय क्षेत्र बनाउनका लागि मास्टर प्लान बनाइसकेको छ, तर केन्द्रिय बजेटमा समेत यसको विकासका लागि पहल गर्न नसकेको कारण विकास हुन नसकेको राजारानी संरक्षण समितिका अध्यक्ष डिल्लीमान तामाङले बताए ।
सुनसरी, चैत १८
प्रतिक्रिया दिनुहोस् >>