भुवन केसी लाई माछा–माछा भ्यागुतो बनाए

अभिनेता भुवन केसीले उनको चुनावी परिश्रमको सूची तयार पार्ने हो भने लामै हुन्छ, तर समानुपातिक कोटाबाटै भए पनि सभासद् बन्ने तीव्र चाहना पालेका भुवनका लागि अन्ततः परिणाम हातमा लाग्यो शून्य नै भयो।जीवनमा आधा किलोमिटर पनि पैदल नहिँडेका भुवन वामदेव गौतमका लागि बर्दियादेखि माधव नेपालका लागि रौतहट मात्र होइन कि झलनाथ खनालका लागि इलाम र केपी ओलीका लागि झापासम्म पसिना चुहाउँदै पैदलै चुनाव प्रचारमा खटिएका थिए।
वास्तवमा चुनावी कार्यक्रमको आकर्षण भन्नु नै भुवन केसी बनेका थिए। यी नेताहरूलाई नभएर भुवनलाई हेर्न, छुन र उनका कुरा सुन्न घन्टौँ कुरेर बसे स्थानीय जनता। भुवनले पनि मनदेखि नै उल्लेखित शीर्षस्थ नेताहरू र उनीहरूको पार्टीका निम्ति खुलेर भोट मागे। भुवनले जुन–जुन ठाउँमा पुगेर जुन–जुन नेताहरूका लागि भोट मागे ती सबैले शानसँग जिते। प्रत्यक्षमा टिकट दिएर पछि खोस्दै भुवनलाई एमालेले पहिले नै बेइज्जत गरिसकेको थियो। समानुपातिकको बन्दसूचीमा उनको नाम कटाएर एमालेले उनीमाथि ठूलो गद्दारी गरेको निष्कर्ष भुवनले निकालेका छन्। 
एमालेमा रहेका कुनै पनि नेताभन्दा कमको उचाइ छैन भुवनको। लोकप्रियताको कसीमा ती नेताहरूभन्दा भुवन नै माथि छन्। उनलाई प्रत्यक्षमा टिकट दिने प्रसङ्गले एमालेकै उचाइ बढाएको थियो। भुवन नाम र दामका लागि नभएर राजनीतिमा प्रवेश गरी एमालेमार्फत चलचित्र क्षेत्रको आवाज संविधानसभामा उठाउन लागिपरेका थिए, तर उनको यो सपना अधुरै रह्यो।
संविधानसभाको हलमा भुवनको प्रवेश साँच्ची नै आकर्षणको विषय बन्ने थियो। हस्ताक्षर गर्न नजान्नेहरू आज समानुपातिकमा परेका छन्, तर भुवनको विरोध आयो भनेर बजारमा हल्ला गर्नेहरूलाई भुवन प्रश्न गर्छन्, ‘त्यो पार्टीमा सबै दूधले धोएका छन्? भुवन केसी, जसले नेपाली चलचित्रको एउटा इतिहास बोकेको छ, यस्ता कलाकारहरूलाई एमालेले आफ्नो पार्टीमा पाउनु पार्टीकै गौरवको कुरा हो, तर संविधानसभामा नलागेर एमालेले साँच्चै ठूलो गल्ती गरेको छ। त्यो पार्टीमा रहेका थुपै्र नेताभन्दा सान, मान, गरिमा र उचाइ भुवनको माथि छ भन्दा अत्युक्ति हुँदैन। विदेशमा यस्ता सेलिबे्रटीलाई पार्टीले स–सम्मान स्वागत गर्छ। भाषणमा देशको गहना भन्ने तर व्यवहारमा धागोको डोरोजति पनि नठान्ने राजनीतिक पार्टीमा प्रवेश गर्दा कलाकारले धेरैपटक सोच्नुपर्ने भयो। जोगी बन्न कोही पनि पार्टीमा प्रवेश गर्दैन, तर यहाँ आफ्नो क्षेत्रमा वर्चश्व कमाएकालाई राजनीतिक पार्टीले नचिन्दा अन्ततः घाटा उनीहरूलाई नै पर्न जाने देखिन्छ। भुवनलाई माछा–माछा भ्यागुतो बनाएपछि अब एमालेमा प्रवेश गर्न खोज्ने अन्य सेलिबे्रटीहरू भोलि कतै यता न उताको हुने त होइन भनी हच्किएका छन्। एमालेलगायतका दलहरूलाई हेक्का रहोस्।

प्रतिक्रिया दिनुहोस् >>


Latest Posts


Featured Video

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>

सम्बन्धित अन्य सामाग्रीहरु >>>