विश्वकपको ढोका खुलेपछि ...
काठमाडौं । अन्तिम बलअघि खेल बराबरी थियो। नेपाललाई जित्न एक रन खाँचो थियो। क्रिजमा थिए, भरपर्दा ब्याट्सम्यान शरद भेषावकर। आक्रमण गर्दै थिए, हङकङका बलर हसिद अमजद।
अमजदको हातबाट जुन रफ्तारमा बल छुट्यो, सायद त्योभन्दा कैयौं गुणा तीव्र धड्किँदै थियो नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको मुटु।
अन्तिम बलले शरदको ब्याट छोएपछि केही बेर त उनी बोल्नै सकेनन्। अनुहार भावशून्य थियो । वरपरका सारा दर्शक खुसीले चिच्याउँदा पनि उनको बोली फुटिरहेको थिए
न। मान्छे खुसीमा हाँस्छ, दुःखमा रुन्छ। तर अत्यधिक दुःख र अत्यधिक खुसी भावनाको त्यो क्षण हो, जहाँ अभिव्यक्ति विलुप्त हुन्छ। मान्छे भावशून्य बन्छ। खालि उसका आँखा टिल्पिलाउँछन्।
विनोदको हालत त्यस्तै थियो । उनी खुसीले रसाएका आँखा लुकाउन सकिरहेका थिएनन्। केहीबेर यत्तिकै पत्थरभावमा बसेपछि बल्ल टिल्पिलाएका आँखा मिच्दै चिच्याए – पूरा भयो सपना
चोटका कारण आइसिसी विश्व ट्वान्टी–२० छनोट चरणका लागि युएई जान नसकेका उनी नेपाली क्रिकेटको सबभन्दा महत्ववपूर्ण खेल काठमाडौंमै बसेर टेलिभिजनमा हेरिरहेका थिए। उनी नेपाल जित्नेमा ढुक्कजस्तै थिए। तर, मनको डर घरिघरि उनको अनुहार फुस्रो पार्न आइपुग्थ्यो।
'हाम्रो टोलीले गरेको मेहनत मैले देखेको छु। आफैंले पनि टिममा मेहनत गरेको छु। त्यसैले जित्नेमा विश्वस्त थिएँ। तैपनि मनको एउटा कुनामा शंका थियो। भगवानमा पनि हुन्छ,' खेल जितेको धेरै बेरपछि विनोदले भने।
१० वर्षअघि नेपाल क्रिकेट संघका तत्कालीन अध्यक्ष जयकुमारनाथ शाहले नेपालले सन् २००७ को एकदिवसीय विश्वकप खेल्ने बताउँदा धेरैले उनको खिल्ली उडाएका थिए। त्यतिखेर बिनातयारी संघका अध्यक्षले यस्तो बताउँदा अविश्वास गर्नु स्वाभाविक थियो। तर, पछिल्लो समय नेपाली टोलीले राम्रो प्रदर्शन गरिरहँदा पनि धेरैले नपत्याउँदा विनोदको मन दुख्ने गरेको थियो। त्यही भएर बुधबार अबुधाबीको अल जाहेद रंगशालामा नेपालको सपना पूरा हुँदा विनोदका आँखाबाट खुसी छचल्किए।
'धेरैले पत्याएका थिएनन्, हामीलाई भने विश्वकप खेल्छौं भन्ने विश्वास थियो। हामीले गरेको मेहनत र पाएका उपलब्धिलाई कम आँक्ने गरिएको थियो,' उनले भने,'आज हामीले प्रमाणित गरेका छौं। मेरो विचारमा क्रिकेटले सम्पूर्ण देशलाई खुसी दिएको छ।'
नेपाल महत्ववपूर्ण खेलका लागि मैदान उत्रिने दिन विनोद बिहानै भगवान भाक्न कमलादी गणेशस्थान पुगेका थिए। उनले नेपालको खेल नसकिएसम्म खानासमेत खाएनन्।'टिमको क्षमतामा विश्वास थियो। दुर्भाग्यले नछोओस् भनेर भगवानकहाँ गएको हुँ,' उनले भने, 'अहिले भगवानलाई पनि धन्यवाद दिन चाहन्छु। नेपाली क्रिकेटलाई माया गर्ने सबैलाई मेरो खास धन्यवाद छ।'
नेपालले १२ वर्षअघि पहिलोपटक विश्वकप छनोटमा सहभागिता जनाएको थियो। त्यो ५० ओभरको स्वरूपमा थियो। त्यतिखेर ट्वान्टी–२० क्रिकेटको परिकल्पनासमेत गरिएको थिएन। अहिले नयाँ स्वरूपबाट विश्वकपमा छनोट हुनुलाई विनोद नेपाली खेलकुदमात्र नभई, नेपालकै लागि ठूलो उपलब्धि मान्छन्।
ट्वान्टी–२० छनोटमा यो नेपालको दोस्रो सहभागिता हो। अघिल्लोपटक नेपाल छनोटको पहिलो चरणबाटै बाहिरिएको थियो। दोस्रो चरणमा छनोट भएका ६ टोलीमध्येबाट दुई टोली छानिने प्रावधान हुँदा नेपाल पहिलो चरणमा सातौं भएको थियो। क्यानाडासँगको महत्वपूर्ण १८ रनले पराजित हुँदा चार वर्षअघि नेपालको सपना थाँती रहेको थियो।
'यो एक दिन, महिना वा वर्षमा आएको सफलता होइन। यसका लागि हामीले वर्षौंदेखि मेहनत गरेका थियौं। एउटा यस्तो सपना देखेका थियौं, जसलाई आज पूरा गरेका छौं,' विनोद भावुक भए, 'पछिल्लो १० वर्षदेखि मैले हरेक दिन देखेको एउटै सपना हो यो। मैले संन्यास नलिइकनै यो पूरा भएको छ। चोटका कारण अहिले म टोलीमा छैन, मार्चमा विश्वकप खेल्न बंगलादेश जाँदा हुन सक्छु।' nagarik
प्रतिक्रिया दिनुहोस् >>